म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३, लुप्सीटारमा बुधबार दिउँसो खसेको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका १३ वर्षीय छोरा सरोज विक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार, दिउँसो १२ बजेको आसपासमा घर नजिकैको पाखो बारीमा घाँस-दाउरा गर्न गएका बाबु-छोरा पहिरोमा परेका थिए।

प्रहरी निरीक्षक पौडेलले बेपत्ता बालक सरोजको खोजीका लागि प्रहरी टोली घटनास्थल पुगिसकेको जानकारी दिए। गएराति १० बजेदेखिको अविरल वर्षाका कारण पहिरो खसेको उनले बताए। सोही दिन म्याग्दीको धौलागिरी गाउँपालिकामा पनि पहिरो खस्दा म्याग्दी नदी करिब १० मिनेटसम्म थुनिएको थियो।
मनसुन सक्रिय भएसँगै म्याग्दी जिल्लामा बाढी र पहिरोका घटनाहरू बढ्दो क्रममा छन्। स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। बेपत्ता बालकको खोजी र थप क्षति रोक्न प्रहरी र स्थानीयवासीले सक्रिय रूपमा काम गरिरहेका छन्।









