पोखरा ।

पछिल्लो समय देशभर देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीले सांकेतिक विरोध प्रदर्शन गरेको छ । ग्यास अभावका कारण सर्वसाधारणसँगै विद्यार्थीको दैनिक जीवन समेत प्रभावित भइरहेको भन्दै कमिटीले क्याम्पसको मुख्य गेट अगाडि दाउरा बालेर खिर पकाएको हो ।
पकाइएको खिर विद्यार्थीहरूलाई वितरणसमेत गरिएको थियो । ग्यासको अभावले खाना पकाउनेदेखि दैनिक जीवनयापनसम्म समस्या सिर्जना भइरहेका बेला सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीले जनाएको छ । तीज पर्वको अवसरलाई समेत जोडेर गरिएको उक्त कार्यक्रम सामान्य रूपमा खिर पकाएर खाने कार्यक्रम मात्र नभई ग्यास अभावका कारण विद्यार्थी तथा आम नागरिकले भोगिरहेको समस्या र पीडाप्रति सरकारलाई सांकेतिक रूपमा प्रश्न गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रम मार्फत सरकारले तत्काल ग्यास आपूर्ति सहज बनाउन तथा आम नागरिकले भोगिरहेको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत गरिएको छ । अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष नबिन अधिकारीले ग्यास अभावका कारण विद्यार्थी र सर्वसाधारणले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताए । उनका अनुसार दाउरा बालेर खिर पकाउने कार्यक्रम सरकारको ध्यानाकर्षण गराउने सांकेतिक माध्यम हो । नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको ग्यास आपूर्ति तत्काल सहज बनाउन सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनले बताए । केही दिन अघि अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीको अगुवाईमा ४० वटा ग्यास सिलिण्डर वितरण गरेको थियो ।








