पोखरा । पोखरामा पहिलो संस्करणको ३५ वर्षमाथिको भेट्रान्स फाइभ ए साइड फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। ह्याङज्याङ (HYANGJYANG) को प्रस्तुतिमा आगामी असोज २७ र २८ गते पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

३५ वर्ष तथा सोभन्दा माथिका खेलाडीहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगितामा विजेता टोलीले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद ५१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा टोलीगत पुरस्कारका अतिरिक्त व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।
फाइभ ए साइड फुटसल स्वरूपमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि नौ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा खिमी थकाली भान्छाघर रहेको छ। त्यस्तै, प्रतियोगितालाई मिलन टोल, एलजी, संगम टोल, करापुटार रामबजार र रिडिङ यूकेले सहयोग गर्ने भएका छन्। प्रतियोगिताको मिडिया पार्टनरका रूपमा ए–किक्स (A-KICKS) रहेको छ।
भेट्रान्स खेलाडीहरूलाई पुनः खेलमैदानमा सक्रिय गराउँदै उनीहरूबीच आपसी मित्रता, सद्भाव र खेलभावना अभिवृद्धि गर्ने अवसरका रूपमा प्रतियोगितालाई लिइएको छ। यस किसिमका प्रतियोगिताले अनुभवी खेलाडीहरूको खेलकौशल प्रदर्शनसँगै फुटसल खेलप्रतिको आकर्षण बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा खेलप्रेमीहरूले थप जानकारीका लागि ९८४०७७८८०४ मा सम्पर्क गर्न सक्नेछन्।









