पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थी सहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनापछि बसमा सवार १९ जनाकै उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको थियो। उपचारका क्रममा चार जना विद्यार्थी र एक जना वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरूमा करिब १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल, नामथर तथा ठेगाना खुल्न बाँकी रहेका करिब १३/१४ वर्ष उमेरका दुई बालिका र पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्।
बाबुराम तिवारी उपचारका लागि अस्पताल जान बसमा लिफ्ट मागेर चढेको बताइएको छ।दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज (जीएमसी) र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा पोखरा–२८ सौर्य निवासी १६ वर्षीया सृष्टि तिवारी, सोही स्थानका १६ वर्षीय शिसन थापा मगर र पोखरा–२८ डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्। उनीहरू तीनै जना कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
त्यस्तै, गण्डकी अस्पतालमा उपचाररत घाइतेहरूमा पोखरा–२८ की १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, मादी गाउँपालिका–१२ की १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर रहेका छन्।
सोही अस्पतालमा बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ।घाइतेमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको जनाइएको छ। अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ।
यसैबीच, दुर्घटनामा परेकाहरूको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








