रोहित बस्नेत असोज ९ पोखरा : नेपालीहरूको महान् पर्व बडादशैं केवल टीका र जमराको पर्व मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक संस्कृति, परम्परा र खेलकुदको उत्सव पनि हो । यही सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्ने उद्देश्यले महिला पर्यटन व्यवसायी मञ्च WOTEF ले पोखरामा पहिलो संस्करणको ‘दशैं, पर्यटन र संस्कृति महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।

“टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दशैंमा भेट” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले गण्डकी प्रदेशका सबै जिल्लाको मौलिक संस्कृति, परम्परा र पर्यटनलाई एउटै थलोमा जोड्ने लक्ष्य लिएको छ ।
दशैंको कोजाग्रत पूर्णिमाका दिन पोखराको बाराहीघाट मैदान, लेकसाइडमा हुने महोत्सवमा दशैंसँग जोडिएका मौलिक खेल तथा मनोरञ्जनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । आकाशमा रंगीचंगी चङ्गा उडाउँदै गरिने चङ्गा चेट, हराउँदै गएको परम्परागत कबड्डी तथा दशैंमा विशेष महत्व राख्ने विभिन्न प्रकारका पिङ महोत्सवका मुख्य आकर्षण बन्ने महिला पर्यटन व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिनुभयो ।
समयसँगै आधुनिक मनोरञ्जनका माध्यम बढ्दै जाँदा गाउँघरका आँगन, चौतारा र खुला मैदानमा गुञ्जिने चङ्गा, पिङ र कबड्डीका आवाज विस्तारै हराउँदै गएका छन् । कहिल्यै दशैं आएको अनुभूति गराउने ती दृश्यहरू आजका पुस्ताका लागि सम्झनामा सीमित हुन थालेका छन् । यही हराउँदै गएको संस्कृतिलाई पर्यटनसँग जोडेर नयाँ पुस्तामाझ पुनः जीवित गराउने प्रयास महोत्सवले गर्नेछ ।
महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका सांस्कृतिक झाँकी, स्थानीय मौलिकता, पर्यटन सम्भावना तथा खानाका परिकारलाई समेत प्रस्तुत गरिने बताइएको छ । यसले पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली दशैंको वास्तविक सांस्कृतिक स्वाद चखाउने अपेक्षा गरिएको बुझिन्छ ।
महिला पर्यटन व्यवसायी मञ्चले पर्यटनमा महिलाको सहभागिता बढाउँदै आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना गर्न लागेको महोत्सवलाई मनोरञ्जनको कार्यक्रमभन्दा पनि संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको अभियानका रूपमा अघि बढाउन खोजेको छ ।
पोखराको पर्यटनलाई थप विविध र अनुभवमुखी बनाउने क्रममा दशैँजस्तो नेपाली समाजको मौलिक पर्वलाई पर्यटनसँग आबद्ध गर्दै पर्यटकलाई नेपाली संस्कृति र परम्पराको प्रत्यक्ष अनुभव गराउने यस महोत्सवले पोखराको पर्यटनमा स्थानीय संस्कृति र समुदायको सहभागितालाई थप जोड्ने विश्वास लिइएको महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले बताउनु भयो ।
दशैंमा टीका र जमरासँगै हराउँदै गएका चङ्गा, पिङ र कबड्डीलाई फेरि पोखराको आकाश र मैदानमा फर्काउने प्रयासले महोत्सवलाई अझ भावनात्मक बनाउनेछ । परम्परा जोगिए मात्र संस्कृति बाँच्छ, संस्कृति बाँचे मात्र त्यससँग जोडिएको पर्यटनले पुस्तौँसम्म जीवन पाउँछ भन्ने सन्देश महोत्सवले दिनेछ ।









