
पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिपर नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सोमबार राति करिब १०:२५ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बालुवा लोड गरिरहेका टिपरहरू नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका तीनवटै टिपर र चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाइएको थियो। महानगरपालिकाले प्रत्येक टिपरलाई रु. १५,००० का दरले जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा परेका सवारीसाधन तथा चालकहरू ग १ क ४४७१ नम्बरको टिपर, चालक गोरखा स्थायी घर भई हाल पोखरा–१९ लामाचौर बस्ने २६ वर्षीय सुजन गुरुङ, GAA ००७६ नम्बरको टिपर, चालक रुपन्देही स्थायी घर भई हाल पोखरा–१ सिम्पानी बस्ने २६ वर्षीय विकास घर्ती, GAA ०१२४ नम्बरको टिपर, चालक ओखलढुंगा स्थायी घर भई हाल पोखरा–२५ याम्दी बस्ने २८ वर्षीय राजु मगर रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार रोक्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
पोखरा ।
भगवती युवा क्लब राखु भगवती, म्याग्दीको आयोजनामा सुलभ प्रिजेन्ट्स थ्री बाई थ्री (३×३) खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजना हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै पहिलो पटक म्याग्दी बाहिर खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिए ।
क्लबले राखु भगवती क्षेत्रमा हरेक वर्ष कोत पूजामा विशेष सहयोग, वडादशैं मेला सञ्चालन तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पोखरामा आयोजना हुने प्रतियोगिताले खेलमार्फत युवाबीच आपसी भाइचारा, सद्भाव र एकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ १५ तथा महिलातर्फ ५ टोलीको सहभागिता रहनेछ। तनहुँ, कास्की, म्याग्दी, काठमाडौं, पर्वतलगायत विभिन्न जिल्लाका खेलाडीहरूले प्रतिस्पर्धामा भाग लिने प्रतियोगिता संयोजक सुलभ मल्लले बताए ।
उनका अनुसार पुरुषतर्फ विजेताले ४२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर पाउनेछन्। त्यसैगरी महिलातर्फ विजेताले २५ हजार २ सय २२ रुपैयाँ तथा उपविजेताले १५ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।
प्रतियोगितामा अमित मल्ल एण्ड फेमिलि यु एस ए बाट प्रथम पुरस्कार प्रायोजन रहेको छभने पावर्ड वाई एक्सट्रीम रहेको छ । संयोजक सुलभ मल्लका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पत्रकार सम्मेलनको सञ्चालन सुदिप वावुले गरेका थिएभने कार्यक्रममा विभिन्न ब्याक्तित्व, बास्केटवल संघ र रेफ्रीहरुको समेत सहभागीता रहेको थियो ।
रोहित बस्नेत
पोखरा : बर्षौ देखि संरक्षण र व्यवस्थापनको अभावमा ओझेलमा परेको डिहीकोपाटन पार्कलाई पछिल्लो समय संरक्षण तथा व्यवस्थापन गर्ने अभियान सुरु गरिएको छ। डिहीकोपाटनका स्थानीय शिवराज कोइरालाको अगुवाइ तथा समाजसेवी गिरिराज अधिकारीको सक्रिय पहलमा पार्कको संरक्षण, सरसफाइ, सौन्दर्यीकरण र पूर्वाधार विकासका काम अघि बढाइएको हो।
डिहीकोपाटन पार्क व्यवस्थापन समितिका अनुसार पोखरा महानगरपालिका वडा नं. ६ को सहयोगमा करिब ६ लाख रुपैयाँ बराबरको बजेटबाट पार्क परिसरमा ढुङ्गा छाप्ने कार्य सम्पन्न भइसकेको छ। यससँगै पार्कलाई व्यवस्थित, आकर्षक र सबै उमेर समूहका नागरिकका लागि उपयोगी सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न संरचनागत तथा सौन्दर्यीकरणका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।
यसै अभियानलाई थप प्रभावकारी बनाउन लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्कका लागि फलामे कुर्सी सहयोग गरेको छ । बैंकका लेकसाईड शाखा प्रमुख प्रकाशचन्द्र पहारीले पार्क व्यवस्थापन समितिलाई फलामे कुर्सी हस्तान्तरण गर्दै सार्वजनिक पार्कको संरक्षण, सौन्दर्य अभिवृद्धि तथा सर्वसाधारणलाई आरामदायी वातावरण उपलब्ध गराउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउनुभयो। आगामी दिनमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभयो।
पार्क व्यवस्थापन समितिका संयोजक शिवराज कोइरालाले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट पार्कमा आउने सर्वसाधारण, ज्येष्ठ नागरिक तथा बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै, सार्वजनिक स्थलको संरक्षण र विकासमा निजी क्षेत्रको सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने समितिको भनाइ थियो। डिहीकोपाटन पार्कको सौन्दर्य र सेवासुविधा विस्तारमा लुम्बिनी विकास बैंकको यो सहयोगले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य बासु बराल, तालबाराही माध्यमिक विद्यालयका पूर्व अध्यक्ष गोविन्दराज पहारी, डिहीकोपाटन पार्क व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा लुम्बिनी विकास बैंकका विभिन्न शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित शाखा प्रमुखहरूमा पोखरा न्यूरोड शाखाका महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखाका गोपीराज अधिकारी, रामबजार शाखाका विश्व प्रकाश वाग्ले, छोरेपाटन शाखाका राजन कुँवर तथा फूलबारी शाखाका रामचन्द्र पौडेल सहभागी हुनुहुन्थ्यो।
यो सँगै स्थानीयवासी तथा विभिन्न संघ–संस्थाको सहकार्यबाट अघि बढिरहेको संरक्षण अभियानले डिहीकोपाटन पार्कलाई पुनः जीवन्त सार्वजनिक उद्यानका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
पोखरा,१६ असार ।
यही असार १९ गते पोखरामा रोजगार मेला (जब फेयर) आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा बुलौंदीमा रहेको इभेन्ट सेण्टरमा मेला आयोजना हुन लागेको हो ।
यो मेला जागिर खोज्ने र जागिर दिनेहरुबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिए ।
मेलामा रोजगार चाहनेहरुले आफ्नो व्यक्तिगत विवरण पेश गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम तय भएको पनि उपाध्यक्ष बास्तोलाको भनाइ छ । सो मेलामा नेपालका प्रतिष्ठित रोजगारदाता कम्पनीहरुको सहभागिता रहने पनि उनले बताए ।
उनका अनुसार मेलामा लक्ष्मी समूहदेखि भाटभटेनी सुपर मार्केट,गोर्खा ब्रुअरी, सोल्टी वेष्ट पोखरा,अन्नपूर्ण केवलकार,सेल्सबेरी,एनपीएल, ब्ल्याकटेक प्रालि,आइएमई खल्ती लिमिटेड,वल्र्डलिङ्क कम्युनिकेसन,प्रमु महालक्ष्मी इन्स्योरेन्स लिमिटेड,रमेश कर्प प्रालि,नेपाल मणिपाल टिचिङ अस्पताल प्रालि,थियोगो क्लिन इनर्जि प्रालि,सिद्धीविनायक स्न्याक्स एण्ड नुडल्स,मुक्तिनाथ विकास बैंक,होलट बाराही,आइएमई अटोमोवाइल्स,धरोहर कन्सल्ट्यान्स एण्ड कन्सल्टिङ प्रालि,सिटिजन लाइफ इन्स्योरेन्स,अटोवेज प्रालि,पोखरा नुडल्स प्रालि,फुडमाण्डु प्रालि,रुपाकोट सिसोर्ट प्रालि,क्युएफएक्स,सूर्यज्योति लाइफ इन्स्योरेन्स,मोअ राइड्स प्रालि,इसेवा,टेम्पलबेल बुटिक होटल,ट्यान्कुलिटी स्पा,टेम्पल ट्री होटल एण्ड स्पा,बेटर एप्लायन्सेस,सिद्धार्थ इन्स्योरेन्स प्रालि,पोखरा इन्टरनेट तथा अर्मला केवल,डिस होम,नेपाल क्यान ग्रुप,सन्ध्या जब्स,बन्दीपुर केवलकार,मारुती सिमेण्ट,युनाइटेड डिष्ट्रिब्यूर्टर्स,नासा सेक्युरिटीज तथा म्याजेष्टिक लेकफ्रन्ट होटलसम्मले रोजगार मेलामा सहभागिता जनाउँदै छन् ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्यदर १७ गतेदेखि लागू हुनेछ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, उपभोक्ताको भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २०६० रुपैयाँमा खरिद गर्न पाउनेछन्। हवाई इन्धन ९आन्तरिक० तर्फ पनि प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम यो समायोजन गरिएको निगमले जनाएको छ। निगमले ढुवानी दुरीका आधारमा देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी नयाँ मूल्य तोकेको छ।
पोखरा, ७ असार ।
पोखरामा बालिका मात्र भएको घरमा ‘झ्याल ढोका नाप्ने’ बहाना बनाएर लाखौँ मूल्यको सुनचाँदी र नगद चोरी गर्ने मुख्य योजनाकार र उक्त चोरीको सुन खरिद गर्ने सुन व्यवसायी दुवै जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारको टोलीले प्राविधिक अनुसन्धानको सहयोगमा उनीहरूलाई काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको हो।
यसरी भएको थियो चोरी
प्रहरीका अनुसार गत जेठ २४ गते दिउँसो करिब सवा २ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. १५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरमा उनकी १५ वर्षीया छोरी मात्र थिइन्। सोही मौका छोपी सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थायी घर भई हाल काठमाडौँ शिवनगर टोल बस्ने ३५ वर्षीय भुवन बहादुर साह शंकर उक्त घरमा प्रवेश गरे।
उनले “म झ्याल ढोका बनाउनको लागि नाप्न आएको हो” भन्दै बालिकालाई झुक्याएर भित्र छिरेका थिए। त्यसपछि कोठाको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना र नगद १३ हजार रुपैयाँ चोरी गरी उनी फरार भएका थिए।
काठमाडौँबाट समातिए चोर र सुन किन्ने व्यापारी
घटनाको सूचना पाएलगत्तै अनुसन्धानमा जुटेको प्रहरी टोलीले असार ४ गते प्रहरी प्रभाग काँडाघारी काठमाडौँको सहयोगमा भुवन बहादुर साह शंकरलाई उनकै कोठाबाट चोरीका सामानसहित पक्राउ गर्यो।
प्रहरी हिरासतमा रहेका भुवनमाथि थप अनुसन्धान गर्दा उनले चोरी गरेका सुनका बालाहरू ६ लाख ५० हजार रुपैयाँमा सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल काठमाडौँ मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई बिक्री गरेको खुलाए। चोरीको सुन किन्ने व्यवसायी सुनारलाई समेत प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ।
के-के भयो बरामद?
कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार प्रतिवादीहरूको साथबाट निम्नानुसारका सामानहरू बरामद गरिएको छ:
-
सुनका गहना: तिलहरी १ थान, चन्द्रमा १ थान, कानमा लगाउने झुम्का २ थान, औँठी ३ थान, र मुन्द्रा १ थान।
-
चाँदीका सामान: बाला ४ थान, सिक्का २ थान, र सिक्री १ थान।
-
नगद: ८१ हजार ५ सय रुपैयाँ।
-
अन्य: वारदातको समयमा आरोपीले लगाएको ज्याकेट, पाइन्ट र चोरीमा प्रयोग गरिएको स्क्रु-ड्राइभर।
पक्राउ परेका दुवै जनामाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन ६ (छ) को म्याद थप अनुमति लिएर प्रहरीले हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ।
पोखरा ।
पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए ।
नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले पोखरामा पछिल्ला चोरीको सिलसिला हेर्दा काठमाडौंबाट पोखरा आउने पोखरामा चोरी गर्ने र फेरी काठमाडौं फर्किने गरेको बताए ।
उनले चोरीको नयाँ टेण्डन आए सगँ प्रहरीलाई अनुसन्धान गर्न धेरै समय लाग्ने गरेको बताए । उनले सुरक्षाको पहिलो प्रहरी स्वयम आफै भएको बताउदै स्थानीयहरु आफु पनि सचेत रहन आग्रह गरे । टोलमा सिसि क्यामेरा जडान गर्न, बत्ति राख्न पोखरामा स्थानीयहरु नै लाग्ने गरेको उनको भनाई छ ।
कार्कीले पोखरामा एउटै घरबाट ५० तोला सुन चोरी भएको बताउदै ठुलो मात्रामा सुन भए घरमा नराख्न अनुरोध गरे । उनले सुनलाई लक्करमा राख्न सुझाब दिए । एसपि कार्कीले महिलाहरुलाई पनि धेरै सुन लगाएर बाहिर ननिस्कन अनुरोध गरे । पछिल्लो समय सुनको मुल्य बढे बहुमल्य धातु भएको भन्दै चोरी गर्नेहरुको ध्यान सुन तर्फ गएको बताए । सुनले गर्दा ज्यानै जाने खतरा हुन सक्ने उनको भनाई छ ।
कार्यक्रममा पोखरा ७ वडा अध्यक्ष राममोहन आचार्यले पोखरा महानगरपालिका वडाहरुलाई उज्यालो वडा बनाउन आफुहरु लागि परेको बताए । उनले वडाका मुख्य चोक चोकमा सिसि क्यामेरा जडान गर्ने लक्ष्य महानगरले अगाडी बढाएको बताए । उनले चोरीलाई रोक्नका लागि स्थानीयहरु नै लाग्नु पर्ने बताउदै आफ्नो टोलमा बेला बेलामा गस्ति गर्नु पर्ने बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईले आफ्नो टोलमा नयाँ मानिस आएमा त्यसको निगरानी राखेर प्रहरीलाई खबर गर्नु पर्ने बताए । शान्ति सुरक्षा कायम राख्न प्रहरी र समुदाय मिलेर अगाडी बढ्नु पर्ने उनको भनाई थियो । उनले घरमा सिसि क्यामेरा, अटोमिटक लाईट लगाएत जडान गर्नु पर्ने बताए । उनले घर छाडेर बाहिर जाँदा छिमेकीलाई घर हेर्नका लागि भन्नुपर्ने उनको भनाई छ । धेरैले घरको दराजको घर्रामा गरगहना राख्ने गरेको बताउदै त्यसो गर्दा चोरीको सम्भावना बढि हुने गरेको बताए ।
कार्यक्रममा स्थानीयले टोलटोलमा गस्ति बढाउन, सिसि क्यामेरा, सडक बत्ति जडान गर्न, लागू औषधमा लागेकालाई नियन्त्रण गर्न, बिहान, साझँ महिलाहरु हिड्न सहज वातावरण बनाउन सुझाब दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बराल, नुवारथोक टोलविकास समिति पोखरा ७ का अध्यक्ष दामोदर बराल लगाएतले समाजमा शान्ति सुरक्षा कायम राख्न, चोरी हुन नदिन समुदाय र प्रहरी सगँसगैँ अगाडी बढ्नु पर्ने बताए ।
पोखरा । पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले झण्डै पाँच अर्ब रुपैयाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी अभाव हुनु साह्रै लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले बताए । पोखरामा २० वर्ष खानेपानीको अभाव हुन्न भनेर जाइकाले आयोजना बनाइदिए पनि धारामा पानी नआएपछि व्यवसायी र पोखरेली आक्रान्त बन्नु परेको परराजुलीले दुःखेसो पोखे ।
‘दिनदिनै ट्यांकरमा पानी किनेर व्यवसाय चलाउनुपरेको छ,’ होटल संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका पराजुलीले भने, ‘पर्यटकीय राजधानी भनेपछि कम्तिमा खानेपानी त दिनुस् ।’ खानेपानी अभाव हुनुको कारणबारे बुझ्न आफूहरु संस्थान पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ठूलो आयोजना सम्पन्न भएपनि खानेपानीको मुहान मर्दीखोलाबाट पोखरासम्म आउने मुख्य पाइप नै सानो हुँदा समस्या भएको संस्थानका इञ्जिनियर लक्ष्मण पाण्डेले बताएको सल्लाहकार परिषद् संयोजक पराजुलीले जानकारी दिए । ‘जाइका मार्फत् ठूलो रकम खर्च गरेर पनि पानी दिन नसकिएको स्वयं संस्थानका इञ्जिनियले बताए’, पराजुलीले भने, ‘ठूलो पाइप राख्ने माग तपाइँहरुले नै सरकारसँग गरिदिनुपर्यो भनेर इञ्जिनियले उल्टो हामीसँग आग्रह गरे ।’
समस्या समाधानका लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले गंभीर भएर ध्यान दिनुपर्ने पराजुलीको सुझाव छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ठूलो पाइप राख्नका लागि बजेट छुट्याउनुपर्ने माग पराजुलीको छ । मेयर र मुख्यमन्त्रीले यसमा इनिसियसन लिनुपर्छ, उनले भने । पानी अभावका कारण धाराहरुमा लामो लाइन देखिने गरेको उनले बताए ।
पोखरेलीलाई प्रशोधित पानी पु¥याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जाइकाले नेपाल सरकारलाई २०८१ मंसिरमा हस्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । आयोजना अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ । पोखराको मुख्य पानीको श्रोत १२ किलोमिटर उत्तरको मर्दिखोला हो । पुरुञ्चौरमा शुद्धीकरण गरिएको पानी वितरणका लागि २० इन्चका चारवटा पाइपबाट पोखरामा ल्याइएको छ । यसका लागि २० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिएको भए पनि हाल पोखरा– ५ पस्र्याङ र पोखरा– ११ फूलबारीबाट पानी वितरण हुँदै आएको छ । पोखरा– १५ कोलपाटनको ट्यांकी भने प्राविधिक कारणले संचालनमा आउन सकेन ।
पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु भएको छ ।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबार सकिनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् ।
तालिम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्ने बताइन् । प्रविधिले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा परिणत गरिसकेको भन्दै उनले पत्रकारितामा एआईको प्रयोगले कार्यक्षमता वृद्धि गर्ने धारणा राखिन् । उनले भनीन्, ‘पत्रकारितामा एआई हाम्रो विकल्प खोज्न आएको होइन, तपाईंको क्षमतालाई दशौँ गुणा गुणात्मक बनाउनका लागि आएको हो, यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’
तथ्य जाँच (फ्याक्ट चेक) मा शुद्धता ल्याउन र नेपाली सञ्चार सामग्रीलाई विश्वव्यापी पहुँचमा पु¥याउन एआईले महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क थियो । पत्रकारितामा तथ्यांक र एल्गोरिदमको युग सुरु भइसकेकाले अब पुरानै ढर्रामा रमाएर बस्न नहुने उनको भनाई थियो ।
प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएको अल्छीपन र ‘काम गरिदिनुस् न’ भन्ने जस्ता परनिर्भरतालाई त्यागेर सक्रियता बढाउनुपर्ने बताइन् । गण्डकी प्रदेश सरकारले आमसञ्चार क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिँदै उनले आगामी दिनमा पोडकास्ट, मल्टिमिडिया र डाटा पत्रकारिताका लागि करिब ८ हप्ताका विशेष कोर्षहरू सञ्चालन गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारलागतयले तालिमले गण्डकी प्रदेशको खेल पत्रकारितालाई नयाँ उचाइमा पु¥याउने र समाचारको गुणस्तरमा यसको प्रभाव देखिने बताएका थिए ।नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पर्शुराम शर्माले गरेका थिए । तालिममा सहभागीहरुलाई उपाध्यक्ष राजाराम पौडेलले स्वागत गरे ।
२ दिनसम्म सञ्चालन हुने तालिममा ६५ खेल पत्रकार सहभागी छन् । उनीहरुलाई पत्रकार अजय शर्मा र सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकाली प्रशिक्षण दिनेछन् ।
पोखरा । पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड ‘बवाल वेयर्स’को आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका रुपमा लिदै शाखा विस्तार गरेको हो ।
शुक्रबारदेखि सञ्चालनमा आएको उक्त आउटलेटको कम्पनीका सञ्चालकहरु सिसन बानियाँ ,बिराट गिरी र बेनदि भारतीले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबारदेखि सञ्चालनमा आएको आउटलेटको डिजाइन तथा उत्पादन संग्रह पोखरेली शैली, भाषा र स्थानीय पहिचानमा केन्द्रित रहेको छ ।
पोखरेली स्ल्याङ, स्थानीय सन्दर्भ र प्रिन्ट समेटिएका कपडाहरू उपलब्ध गराइने कम्पनीका सञ्चालक बिराट गिरीले बताए । दैनिक प्रयोगका कपडादेखि समसामयिक फेसनका उत्पादनहरू समेत उपलब्ध छन् । हाल कम्पनीले प्रिन्टेड टिसर्टका साथै ‘बवाल एसेन्सियल्स’ नामक उप–ब्रान्डमार्फत सर्ट, पाइन्ट, ट्राउजरलगायत आधारभूत परिधान उत्पादन गर्दै आएको छ । निकट भविष्यमा आफ्नै ब्रान्डको जिन्स सार्वजनिक गर्ने तयारी समेत रहेको गिरीले बताए ।
गिरीका अनुसार पोखरा ब्रान्डका लागि प्रमुख बजारमध्ये एक भएकाले यहाँ शाखा विस्तार गरिएको हो । काठमाडौंबाट पठाइने उत्पादनमध्ये पोखरा प्रमुख बजार रहेको र यहाँका ग्राहकले ब्रान्ड तथा डिजाइनलाई उत्साहपूर्वक रुचाइरहेका छन् ।
पोखरा शाखामा ४५ ( ५० लाख रुपैयाँ लगानी गरिएको छ । आउटलेट उद्घाटनको अवसरमा कम्पनीले एक सातासम्म ग्राहकलाई ५ प्रतिशत छुट दिने जनाएको छ । आगामी दिनमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा विशेष छुट योजनाहरू पनि सञ्चालन गरिने छन््।
कम्पनी सञ्चालनमा आएको साढे दुई वर्ष भएको छ । आगामी दिनमा काठमाडौंमा थप आउटलेट विस्तार गर्ने तथा पूर्वी नेपालका सहरहरूमा पनि शाखा खोल्ने योजना रहेको छ । साथै विभिन्न युवाहरूलाई रोजगारी समेत दिइएको छ । हाल काठमाडौंस्थित कार्यालय र उत्पादन केन्द्रमा ७० जना कार्यरत छन् ।




