२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

पोखरा ।
युनाइटेड क्लब पोखराले नेपालीहरूको मौलिक चाडपर्व विजया दशमी, दीपावली, छठ तथा नेपाल संवत्को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङले विपद्को समयमा क्लबले पु¥याएको योगदानको स्मरण गरे । विगतमा वडा कार्यालयमा क्षति पुग्दा युनाइटेड क्लबले कम्प्युटर सहयोग गरेर कार्यालयको दैनिक कामकाज सुचारु गर्न ठूलो मद्दत गरेको उल्लेख गर्दै उनले क्लबका गतिविधिलाई निरन्तरता दिन वडा कार्यालयबाट यस पटक रु. १ लाख विनियोजन गरिएको जानकारी दिए ।

कार्यक्रममा अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले युनाइटेड क्लब समाजका हरेक वर्गलाई समेटेर अघि बढेको बताए । क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको चर्चा गर्दै उनले अमरसिंह मावि र युनाइटेड क्लबबीच नङ र मासुको जस्तै प्रगाढ सम्बन्ध रहेको तथा आगामी दिनमा पनि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङले आगामी २३ गते आयोजना हुने देउसीभैलो कार्यक्रमबाट संकलित रकम विपद् व्यवस्थापन कोषमा सहयोग गरिने उद्देश्य रहेकाले सबैलाई खुलेर सहयोग गर्न अपिल गरे ।
क्लबका आजीवन सदस्य बलराम ढुंगानाले युनाइटेड क्लब पोखरामा एक चिरपरिचित नाम भएको र यसका सम्पूर्ण गतिविधि पारदर्शी रहने गरेको बताए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।

क्लबका अध्यक्ष गणेश तिमिल्सिनाले युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहदा नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरि विपद ब्यवस्थापन कोष सञ्चालन भइरहेको हुँदा आगामी कार्तिक २३ गते आयोजना हुने शुभकामना देउसीभैलो कार्यक्रममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा क्लबका आजीवन सदस्य चोलेन्द्र पौडेल गण्डकी प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यमा मनोनित भएको र क्लबका शुभचिन्तक नवराज घिमिरे अमरसिंह माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित भएकोमा बधाइ ज्ञापन गरिएको थियो ।

क्लबका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापाले शुभकामना मन्तब्य राखेका थिए । यसैवीच शुभकामना आदान प्रदान कार्यक्रमकै बिच देउसीभैलो कार्यक्रम अगावै १ लाख रुपैया संकलन भएको देउसीभैलो कार्यक्रमका संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँले जानकारी दिए ।

पोखरा । सामाजिक क्षेत्रमा सक्रिय युनाइटेड क्लब पोखराले पोखरा रंगशाला परिसरमा ११ थान कुर्सी जडान गरी जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले सञ्चालन गर्दै आएको क्लीन रंगशाला, ग्रीन रंगशाला अभियानमा सहयोग पु¥याउने उद्देश्यले क्लबले कुर्सी जडान गरी हस्तान्तरण संगै वृक्षारोपण गरेको हो ।

गत पुसमा सम्पन्न १३औँ पोखरा महोत्सवका अवसरमा युनाइटेड क्लबले जिल्ला खेलकुद विकास समिति कास्कीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । सोही रकमबाट रंगशाला परिसरमा ११ थान कुर्सी निर्माण तथा जडान गरिएको र हालै एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
अध्यक्ष तिमिल्सिनाले जिल्ला खेलकुद विकास समितिले अघि सारेको क्लीन रंगशाला, ग्रीन रंगशाला अभियानमा सानो भए पनि योगदान गर्न पाउँदा खुसी लागेको बताए । खेलकुदको विकासका लागि रंगशाला, प्याराफिट र अन्य भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले रंगशालाको वातावरणसमेत स्वच्छ, सुन्दर र व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

रंगशालाको वातावरण राम्रो भए खेलाडीहरूमा खेलप्रतिको उत्साह र हौसला थप बढ्ने उनको भनाइ थियो । क्लबले १३औँ पोखरा महोत्सवकै अवसरमा रंगशालाको सौन्दर्यीकरणका लागि सहयोग गर्ने प्रतिबद्धताअनुसार कुर्सी जडान गरिएको बताउँदै तिमिल्सिनाले आगामी दिनमा पनि पोखरा रंगशालाको संरक्षण, संवद्र्धन र विकासका लागि क्लबको साथ र सहयोग निरन्तर रहने बताए ।

त्यसैगरी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले क्लीन रंगशाला, ग्रीन रंगशाला अभियानमा युनाइटेड क्लबको सहयोग महत्त्वपूर्ण रहेको बताए । विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा रंगशाला परिसरमा खानेपानीलगायतका आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेको जानकारी दिँदै गुरुङले युनाइटेड क्लबले जडान गरेका कुर्सीले रंगशालाको सौन्दर्य बढाउनुका साथै खेलाडी तथा आगन्तुकहरूलाई बस्न सहज हुने विश्वास व्यक्त गरे ।

रंगशालाको सरसफाइ, सौन्दर्यीकरण र पूर्वाधार विकासलाई समितिले प्राथमिकतामा राखेको बताउँदै उनले यस्ता सामाजिक कार्यमा विभिन्न संघसंस्थाको सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि युनाइटेड क्लबसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

त्यस्तै जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले युनाईटेड क्लबले पोखरा र नेपालका विभिन्न भागमा पुगी सामाजिक काम मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको र पोखरा रंगशालामा सञ्चालित क्लीन रंगशाला क्लीन रंगशाला अभियानमा समेत साथ दिएकोमा धन्यवाद ब्यक्त गरे ।

कुर्सी हस्तान्तरण कार्यक्रममा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष लोकबहादुर थापा, पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष शान्तबहादुर थापा, प्रथम उपाध्यक्ष सूर्यबहादुर बानियाँलगायतको उपस्थिति रहेको क्लबका महासचिव सन्तोष कार्कीले जानकारी दिए । सो अवसरमा रंगशाला परिसरमा वृक्षारोपण समेत गरिएको कार्कीले बताए ।

 

रोहित बस्नेत
कार्तिक ६ पोखरा : स्पेनमा नेपाली समाज दोनोस्तीले बडादशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सँगै दोनोस्तीमा रहेका नेपालीहरूले भोटेकोशी बाढीपीडितका लागि २२ लाख रुपैयाँ राहत संकलन गरेका छन् ।
खेलाडी तथा समाजसेवी अशोक लामा रुम्बाको नेतृत्वमा संकलित उक्त रकम बाढी प्रभावित क्षेत्रका पिडितको आवश्यकता अनुसार वितरण गनिने छ ।

पहिलो चरणमा आठ लाख चार हजार पाँच सय ५० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइसकिएको र बाँकी करिब १४ लाख रुपैयाँ राहत टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयको समन्वयमा वितरण गर्ने खेलाडी रुम्बाले जानकारी दिए ।

बैदाम तामाङ सेवा समाजका आजीवन सदस्यसमेत रहनुभएका रुम्बाको नेतृत्वमा सञ्चालन गरिएको अभियानले प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

राहत अभियानमा स्पेनको रेन्तेरिया नगरपालिकासहित दोनोस्तीमा रहेका नेपाली तथा अन्य शुभचिन्तकहरूले सहयोग गरेका छन् । रुम्बाले विपद्का बेला मातृभूमिका नागरिकलाई सहयोग गर्न हातेमालो गर्ने सबै दाताप्रति आभार व्यक्त गरेका छन् ।

प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नेपाली समाज दोनोस्तीले राहत तथा सांस्कृतिक गतिविधिमार्फत नेपालीबीच एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ । भोटेकोशी बाढीपीडितका लागि संकलित सहयोगले विदेशमा रहे पनि दुःखमा परेका नेपालीको पीडामा साथ दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

पोखरा ।

कोइली टुर एन्ड ट्राभल्सले पोखरा–काठमाडौं रुटमा शौचालय र स्लिपरसहितको सुविधासम्पन्न रात्रिकालीन बस सेवा सुरु गरेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सञ्चालकसमेत रहेका कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठी र अशोककुमार चौधरीको पहलमा यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक सुविधासहितको बस सञ्चालनमा ल्याइएको हो ।

बिगत ३२ वर्षदेखि यातायात व्यवसायमा सक्रिय त्रिपाठीले आफ्नो अनुभवलाई उपयोग गर्दै यात्रुमैत्री सेवा विस्तारमा जोड दिइएको बताए । उनका अनुसार तीन वर्षअघि परिकल्पना गरिएको कोइली ट्राभल्सले यात्रुको सकारात्मक प्रतिक्रियापछि एक वर्षअघि दिवा सेवा सुरु गरेको थियो । अहिले रात्रिकालीन सेवालाई थप परिष्कृत गर्दै शौचालय र आरामदायी स्लिपरको व्यवस्था गरिएको हो ।

त्रिपाठीले यात्रुको माग र समयको आवश्यकताअनुसार सेवालाई निरन्तर स्तरोन्नति गर्दै लगिएको बताए । बाढीपहिरो, सडकको दुरवस्था र यातायात क्षेत्रको कठिन परिस्थितिका बाबजुद स्वदेशमै लगानीलाई निरन्तरता दिइएको उल्लेख गर्दै उनले चाडपर्वलाई मात्रै लक्षित नगरी नियमित सेवा सञ्चालन गरिने स्पष्ट पारे ।

पोखरा महानगरपालिका–२५ हेम्जाबाट सुरु हुने बस पोखराको पर्यटन बसपार्क हुँदै काठमाडौं, भक्तपुर र बनेपासम्म सञ्चालन हुनेछ । वातानुकूलित बसमा २ वाई १ ढाँचाका २१ सिट, एकल तथा दोहोरो स्लिपर, शौचालय, खानेपानी, खाजा, कफी र तातोपानीको सुविधा छ । सिट र स्लिपर दुवैको भाडा प्रतियात्रु एक हजार छ सय रुपैयाँ कायम गरिएको छ । बस प्रत्येक दिन साँझ ६ः ३० बजे र पर्यटक बसपार्कबाट ७ः ३० बजे छुट्ने छ ।

कोइली ट्राभल्सका अर्का सञ्चालक अशोककुमार चौधरीले अटोमोबाइल इन्जिनियरिङ अध्ययनपछि करिब २५ वर्षदेखि पोखरालाई कर्मथलो बनाएर यातायात क्षेत्रमा काम गर्दै आएको बताए । स्वदेशमै आधुनिक प्रविधिको प्रयोग गर्दै कोइलीलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले बसमा चीनबाट ल्याइएको स्वचालित शौचालय, प्रत्येक सिटमा बेल तथा परिवारमैत्री स्लिपरको व्यवस्था गरिएको बताए ।

कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार शाहीले कठिन परिस्थितिमा समेत व्यवसायीहरूले गरेको लगानी र सेवा विस्तारको प्रशंसा गरे । उनले यात्रुको सुरक्षा र दुर्घटनापछिको अभिलेख व्यवस्थापनका लागि आधिकारिक काउन्टर वा अनलाइनमार्फत टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा बोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष योगेन्द्र केसीले बाढीपहिरो, सडकको कमजोर अवस्था र यात्रुको चाप घटिरहेका बेला करिब एक करोड २० लाख रुपैयाँ लगानी गरेर सेवा विस्तार गर्नु सराहनीय भएको बताए । उनले यात्रुको सुरक्षा, चालक तथा कर्मचारीको अनुशासित व्यवहार र गुणस्तरीय खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले नयाँ सेवाले पोखरा–काठमाडौं यात्रालाई थप सहज, सुरक्षित र आरामदायी बनाउने विश्वास व्यक्त गरे ।

पोखरा ।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखेको छ ।
पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए। महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछा तथा मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने उनले बताए ।
बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटकको आकर्षण बढाउने कार्यक्रमसमेत महोत्सवमा समावेश गरिने लामिछानेले जानकारी दिए। स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रवद्र्धनसँगै समग्र क्षेत्रको पर्यटन विकासमा महोत्सवले योगदान पु¥याउने उनको विश्वास छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाभित्र रहेका आठवटै ताललाई पर्यटकीय सम्भावनाका आधारमा व्यवस्थित रूपमा विकास गर्नुपर्ने बताए। उनले तालहरूको पहिचान र विशेषताअनुसार नामकरण तथा प्रवद्र्धन गर्दै पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा विकास गर्न सुझाव दिए। साथै, एउटा ताललाई जलक्रीडा (वाटर स्पोट्र्स) केन्द्रका रूपमा विकास गर्न सके पानीमा रमाउन चाहने पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो। पर्यटन व्यवसायीबीच सहकार्य र एकतामार्फत समग्र कास्कीको विकासमा योगदान दिनसमेत उनले आग्रह गरे।

एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीले २०७१ सालदेखि सुरु भएको फिस फेस्टिभलको पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समयसम्म आयोजना गर्न नसकिएको बताए। कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै लोप हुँदै गएको मौलिक देउसीभैलो संस्कृतिको संरक्षण, विभिन्न जातका माछाका परिकारको प्रवद्र्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले छैटौँ संस्करण आयोजना गर्न लागिएको उनले स्पष्ट पारे ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले लेखनाथ क्षेत्रको आर्थिक गतिविधि बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन यस्ता महोत्सव उपयोगी हुने बताए। स्थानीय माछाका परिकार तथा रैथाने खानाको प्रवद्र्धनमा महानगरपालिका सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले गाउँ र सहरबीच सहकार्य गरेर उत्पादन र आर्थिक विकासमा जोड दिनुपर्ने बताए ।

एसोसिएसनकी सचिव शक्ति श्री कोइरालाका अनुसार महोत्सव सञ्चालनका लागि करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड, टिकट बिक्री तथा स्टलबाट प्राप्त हुने आम्दानीलगायत स्रोतबाट खर्च व्यवस्थापन गरिने उनले जानकारी दिइन्। महोत्सवबाट बचत भएको रकम तालबराही, गोरखनाथ मन्दिर र बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको उनको भनाइ थियो ।

स्थानीय माछाका विभिन्न प्रजातिलाई ब्रान्डका रूपमा विकास गर्ने, परम्परागत नेपाली गीत–संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने र पर्यटन व्यवसायलाई थप चलायमान बनाउने लक्ष्यसमेत महोत्सवले लिएको आयोजकले जनाएको छ ।
कसमस इन्टरनेसनल कलेजकी युनिट प्रमुख प्रभा भुजेलले अन्तर्राष्ट्रिय भाषाको अध्ययन–अध्यापन गराउँदै आएको शैक्षिक संस्था पर्यटन क्षेत्रसँग जोडिएर सहकार्य गर्न तयार रहेको बताइन् । महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, गोर्खा ब्रुअरी नेपाललगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायको सहयोग रहने आयोजकले जनाएको छ ।

पोखरा । स्वर्गीय डेनिश छन्त्याल फोर्टिन सर्ट्स को स्मृतिमा पोखरामा ‘डेनिश छन्त्याल फोर्टिन सर्ट्स स्मृति कप–२०८३’ अन्तर्गत बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । डेनिस छन्त्यास फोर्टिन सर्ट्स परिवार र श्रीकृष्ण युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको होे । प्रतियोगिताअन्तर्गत खुला पुरुष ५×५ बास्केटबल र भेट्रान्स ५×५बास्केटबल प्रतियोगिता हुनेछन ।

प्रतियोगिता संयोजक हिमाल छन्त्यालका अनुसार खुला पुरुष ५×५ बास्केटबल प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५४ हजार १४ रुपैयाँ तथा उपविजेताले १ लाख १४ हजार १४ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई जनही १० हजार १४ रुपैयाँ तथा अनुशासित टोलीलाई २० हजार १४ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने उत्कृष्ट खेलाडीलाई समेत ट्रफी तथा प्रमाणपत्रबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

खुला पुरुष बास्केटबल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका बढीमा दुई जना खेलाडीलाई मात्र एक टोलीमा समावेश गर्न पाइने व्यवस्था गरिएको छ । प्रतियोगिताका खेलहरू फिबाको नियमअनुसार सञ्चालन गरिनेछन् ।खुला पुरुष बास्केटबल प्रतियोगिताका लागि टोली दर्ता शुल्क १० हजार १४ रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिताको टाइसिट असोज २४ गते दिउँसो २ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

४० वर्षमाथिका खेलाडीलाई लक्षित गरी भेट्रान्स ५×५ बास्केटबल प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार १४ रुपैयाँ तथा उपविजेताले ४० हजार १४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले ६ हजार १४ रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।

प्रतियोगितामा खेलाडीको उमेरसम्बन्धी विशेष मापदण्डसमेत निर्धारण गरिएको छ । जसअनुसार प्रत्येक टोलीमा ३५ वर्ष वा सोभन्दा माथिका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइनेछ भने बाँकी १० जना खेलाडी ४० वर्ष वा सोभन्दा माथिका हुनुपर्नेछ । आवश्यक परेमा खेलाडीले उमेर प्रमाणित गर्ने आधिकारिक कागजात पेस गर्नुपर्नेछ। खेलाडीको योग्यतासम्बन्धी अन्तिम निर्णय आयोजक समितिको हुने जनाइएको छ ।

स्वर्गीय डेनिश छन्त्यालको स्मृतिलाई जीवन्त राख्दै खेलकुदमार्फत युवाहरूबीच आपसी सद्भाव, एकता, अनुशासन र खेलभावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखराको बास्केटबल तथा भलिबल खेलको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थी सहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनापछि बसमा सवार १९ जनाकै उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको थियो। उपचारका क्रममा चार जना विद्यार्थी र एक जना वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा करिब १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल, नामथर तथा ठेगाना खुल्न बाँकी रहेका करिब १३/१४ वर्ष उमेरका दुई बालिका र पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्।

बाबुराम तिवारी उपचारका लागि अस्पताल जान बसमा लिफ्ट मागेर चढेको बताइएको छ।दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज (जीएमसी) र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा पोखरा–२८ सौर्य निवासी १६ वर्षीया सृष्टि तिवारी, सोही स्थानका १६ वर्षीय शिसन थापा मगर र पोखरा–२८ डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्। उनीहरू तीनै जना कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।

त्यस्तै, गण्डकी अस्पतालमा उपचाररत घाइतेहरूमा पोखरा–२८ की १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, मादी गाउँपालिका–१२ की १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर रहेका छन्।

सोही अस्पतालमा बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ।घाइतेमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको जनाइएको छ। अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ।

यसैबीच, दुर्घटनामा परेकाहरूको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोखरा । पोखरामा पहिलो संस्करणको ३५ वर्षमाथिको भेट्रान्स फाइभ ए साइड फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। ह्याङज्याङ (HYANGJYANG) को प्रस्तुतिमा आगामी असोज २७ र २८ गते पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

३५ वर्ष तथा सोभन्दा माथिका खेलाडीहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगितामा विजेता टोलीले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद ५१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा टोलीगत पुरस्कारका अतिरिक्त व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।

फाइभ ए साइड फुटसल स्वरूपमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि नौ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा खिमी थकाली भान्छाघर रहेको छ। त्यस्तै, प्रतियोगितालाई मिलन टोल, एलजी, संगम टोल, करापुटार रामबजार र रिडिङ यूकेले सहयोग गर्ने भएका छन्। प्रतियोगिताको मिडिया पार्टनरका रूपमा ए–किक्स (A-KICKS) रहेको छ।

भेट्रान्स खेलाडीहरूलाई पुनः खेलमैदानमा सक्रिय गराउँदै उनीहरूबीच आपसी मित्रता, सद्भाव र खेलभावना अभिवृद्धि गर्ने अवसरका रूपमा प्रतियोगितालाई लिइएको छ। यस किसिमका प्रतियोगिताले अनुभवी खेलाडीहरूको खेलकौशल प्रदर्शनसँगै फुटसल खेलप्रतिको आकर्षण बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा खेलप्रेमीहरूले थप जानकारीका लागि ९८४०७७८८०४ मा सम्पर्क गर्न सक्नेछन्।

पोखरा । तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समिति पोखराको आयोजनामा दोस्रो टीपीएलएस (TPLS) अन्तर तमु समाज ६-ए-साइड एमेच्योर फुटसल प्रतियोगिता–२०८३ हुने भएको छ।

पोखरामा रहेका विभिन्न तमु समाजहरूबीच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता आगामी असोज २४ र २५ गते पोखरा रङ्गशालास्थित कभर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।

तमु समुदायका युवाहरूलाई खेलकुदका माध्यमबाट एकताबद्ध गर्दै उनीहरूमा रहेको खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यसमेत प्रतियोगिताले लिएको छ। साथै, युवाहरूमा अनुशासन, मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

प्रतियोगिताको विजेता टोलीले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

६-ए-साइड एमेच्योर फुटसल स्वरूपमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि पाँच हजार पाँच सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

प्रतियोगितामा सहभागिताका लागि पोखरामा रहेका सम्पूर्ण तमु समाज तथा खेलप्रेमी युवाहरूलाई आयोजकले आह्वान गरेको छ। खेलकुदलाई प्रतिस्पर्धामा मात्र सीमित नराखी समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउने र युवा पुस्तालाई सामाजिक एकताको सूत्रमा जोड्ने माध्यमका रूपमा प्रतियोगितालाई अघि बढाइएको आयोजकले जनाएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि मनोज गुरुङलाई ९७१४०२३४७२ र सुजन गुरुङलाई ९८६६०५०११४ मा सम्पर्क गर्न सकिनेछ।

तमु समुदायका युवाहरूबीच खेलकौशल प्रदर्शन, आपसी परिचय, मित्रता र भाइचाराको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समिति पोखराले जनाएको छ।

​पोखरा ।

रसुवामा गएको बाढीपहिरो प्रभावितहरूका लागि उल्लेरी गाउँ सेवा समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेको संयुक्त पहलमा संकलित चार लाख एक सय पैंचालिस रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

​संकलित रकम नेपाल बैंक लिमिटेडमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा जम्मा गरिएको हो। सो सहयोगबारे जानकारी दिँदै साेमबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई प्रतीक स्वरूपको चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

​उल्लेरी गाउँ सेवा समाज पोखराले पूर्व निर्धारित ‘आत्मीय भेटघाट’ कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बाढीपीडितको सहयोगार्थ रकम संकलन अभियान सञ्चालन गरेको उल्लेरी गाउँ सेवा समाज कास्की पाेखराका अध्यक्ष हुमबिर खाेरजाले जानकारी दिए ।

यो सहयोग रकमले बाढी प्रभावित तथा अति आवश्यकता परेका परिवारसम्म राहत पुर्‍याउन मद्दत पुग्ने समाजले विश्वास लिएको उल्लेरी समाज युकेका अध्यक्ष आन बहादुर खाेरजाले बताए ।

​समाजले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साथै, यस मानवीय अभियानमा योगदान पुर्‍याउने नेपाल तथा यूकेका सम्पूर्ण दाताहरूप्रति उल्लेरी समाज युकेका संस्थापक अध्यक्ष तथा उल्लेरी गाउँ सेवा समाज कास्की पाेखराका सचिव फवेन्द्र खाेरजा र सदस्य राज खाेरजा पुनले आभार वयक्त गरे ।

उल्लेरी समाज युकेका अध्यक्ष आनबहादुर खाेरजा र संस्थापक अध्यक्ष फवेन्द्र खाेरजाले काेभिड महामारीकाे समयमा उल्लेरी गाउँका ५२ घर परिवारलाई खाद्यान्न वितरण गरेका थिए ।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।