पोखरा ।
युनाइटेड क्लब पोखराले नेपालीहरूको मौलिक चाडपर्व विजया दशमी, दीपावली, छठ तथा नेपाल संवत्को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङले विपद्को समयमा क्लबले पु¥याएको योगदानको स्मरण गरे । विगतमा वडा कार्यालयमा क्षति पुग्दा युनाइटेड क्लबले कम्प्युटर सहयोग गरेर कार्यालयको दैनिक कामकाज सुचारु गर्न ठूलो मद्दत गरेको उल्लेख गर्दै उनले क्लबका गतिविधिलाई निरन्तरता दिन वडा कार्यालयबाट यस पटक रु. १ लाख विनियोजन गरिएको जानकारी दिए ।

कार्यक्रममा अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले युनाइटेड क्लब समाजका हरेक वर्गलाई समेटेर अघि बढेको बताए । क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको चर्चा गर्दै उनले अमरसिंह मावि र युनाइटेड क्लबबीच नङ र मासुको जस्तै प्रगाढ सम्बन्ध रहेको तथा आगामी दिनमा पनि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङले आगामी २३ गते आयोजना हुने देउसीभैलो कार्यक्रमबाट संकलित रकम विपद् व्यवस्थापन कोषमा सहयोग गरिने उद्देश्य रहेकाले सबैलाई खुलेर सहयोग गर्न अपिल गरे ।
क्लबका आजीवन सदस्य बलराम ढुंगानाले युनाइटेड क्लब पोखरामा एक चिरपरिचित नाम भएको र यसका सम्पूर्ण गतिविधि पारदर्शी रहने गरेको बताए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।
क्लबका अध्यक्ष गणेश तिमिल्सिनाले युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहदा नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरि विपद ब्यवस्थापन कोष सञ्चालन भइरहेको हुँदा आगामी कार्तिक २३ गते आयोजना हुने शुभकामना देउसीभैलो कार्यक्रममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
सो अवसरमा क्लबका आजीवन सदस्य चोलेन्द्र पौडेल गण्डकी प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यमा मनोनित भएको र क्लबका शुभचिन्तक नवराज घिमिरे अमरसिंह माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित भएकोमा बधाइ ज्ञापन गरिएको थियो ।
क्लबका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापाले शुभकामना मन्तब्य राखेका थिए । यसैवीच शुभकामना आदान प्रदान कार्यक्रमकै बिच देउसीभैलो कार्यक्रम अगावै १ लाख रुपैया संकलन भएको देउसीभैलो कार्यक्रमका संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँले जानकारी दिए ।









