नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवामाथि प्रतीकात्मक टिप्पणी गर्दै भनेका छन्, “शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन।” सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले धेरै नेतालाई पद र जिम्मेवारी दिए पनि तिनबाट अपेक्षित काम नभएको संकेत गरे।

भण्डारीले सभापति देउवा अब प्रधानमन्त्री बनेपछि गर्नुपर्ने काम र निर्णयका लागि पर्याप्त पूर्वतयारी गर्नुपर्नेमा जोड दिए। उनले पार्टीको प्रशिक्षण कार्यक्रमलाई सुधार गर्न, प्रशिक्षणका विषयवस्तु र प्रशिक्षकहरू परिवर्तन गर्न सुझाव दिए। साथै, भातृ संगठनहरूमा निर्वाचन नगरी मनोनयनबाट नेतृत्व चयन गर्दा प्रभावकारी काम नभएको बताए। उनले भने, “मिति आफूले बनाउने, चलाउन अर्कालाई दिने गर्दा काम लागेन।”
पार्टीभित्र नेताहरूबीच द्वन्द्व हुँदा रमिता हेर्ने नभई मिलाउनेतर्फ लाग्नुपर्ने उनको सुझाव छ। उनले सीमान्तकृत वर्गलाई समेट्ने जलस्रोत नीतिलाई पार्टीले अपनत्व लिनुपर्ने र यसले गरिबी निवारणमा ठूलो योगदान पुग्ने दाबी गरे।
आगामी निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै भण्डारीले सामाजिक सञ्जालमा उठेका विषयहरूलाई नजिकबाट नियाल्न र तीनै तहका सरकारका कामको निर्मम समीक्षा गरी सुधार गर्नुपर्ने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू पार्टीको रसिद काटेर सक्रिय राजनीतिमा फर्किंदा जनतामा वितृष्णा र आलोचना बढ्ने भन्दै चिन्ता व्यक्त गरे।
निजामती विधेयक पारितका क्रममा देखिएका त्रुटिहरू कुनै एक व्यक्तिको मात्र नभई सबै सांसदको जिम्मेवारी भएको भन्दै उनले सामूहिक जवाफदेहिता लिनुपर्ने बताए। साथै, विद्यालय शिक्षा विधेयक, युवा पलायन, किसानलाई मल, बीउ र अनुदान, तथा रुपन्देही र मनाङमा हुने उपनिर्वाचनका विषयमा पनि उनले धारणा राखे।
गत हप्तादेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आज पदाधिकारीहरूले जवाफी सम्बोधन गरेपछि निर्णय सुनाउँदै बैठक सम्पन्न गर्ने तयारी छ।









