सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीमा भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ करिब ७:३० बजे चतरा–कान्छी चोक भित्री सडकखण्डमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र अर्को मोटरसाइकलका चालक इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको छ। सुनसरी प्रहरीका अनुसार उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको हो।
दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीया प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। घाइतेहरूको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले घाइते प्रतीक्षा मृतक इनर्चन चौधरीकी पत्नी भएको जानकारी दिए।
प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









