रौतहटको चन्द्रपुर नगरपालिका–१०, निबुवा टोलमा सेफ्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, मङ्गलबार साँझ करिब ७:४५ बजे यी दुवै बालबालिका खेल्ने क्रममा स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्याङ्कीमा खसेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चन्द्रपुरस्थित सरकारी अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा पुगेको केही समयपछि ८:१५ बजे चिकित्सकले दुवै बालबालिकालाई मृत घोषणा गरे।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।









