घोराही उपमहानगरपालिका–१५ स्थित ट्राफिक चोक नजिकैको शिरडी साई मन्दिर टोलमा आज बिहानको वर्षासँगै बाढी पसेको छ। सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीभित्र पस्दा दर्जनौं घरका भुइँतला जलमग्न भएका छन्।

पत्रकार कुलदीप न्यौपानेका अनुसार अधिकांश घरका आँगन, भान्साकोठा, बेडरुमलगायतका कोठाहरूमा धमिलो पानी पसेको छ। बाढीले खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडामा क्षति पुर्याएको छ। स्थानीयवासीहरू मोटर र भाँडाको सहायताले घरभित्र पसेको पानी निकाल्ने प्रयासमा छन्।
कटुवा खोलाको पानी कुलोमार्फत ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाहीलगायतका क्षेत्रमा सिंचाइका लागि लगिने गरिन्छ। तर सो कुलोभन्दा पूर्वतर्फ तल पर्ने शिरडी साई मन्दिर टोलमा पानी ओभरफ्लो हुँदा बाढी सिधै बस्तीमा पसेको हो।









