२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

“वीर अस्पतालको मुटुरोग विभाग : डा. दिक्षा जोशीको नेतृत्वमा नयाँ उचाइ”

वीर अस्पताल, जहाँ देशभरका बिरामीको भीड छ, सबै विभागहरू प्रायः भरिपूर्ण हुन्छन्। तर, मुटुरोग विभाग शल्यक्रिया सेवा प्रदानमा पूर्ववत् अपवाद थियो। वीर अस्पतालमा मुटुरोगको सामान्य उपचार मात्र हुन्थ्यो र जटिल शल्यक्रियाका लागि बिरामीहरू अन्यत्र रिफर गरिन्थे। यो कुरा अहिले पुरानो भयो। अहिले विभागमा ठूलो परिवर्तन आएको छ।

१२ वर्षमा खोलो पनि फर्कन्छ भनेझैं, वीर अस्पतालको मुटुरोग विभाग पनि तंग्रिएको छ। नयाँ-नयाँ उपकरण थपिएका छन्, दक्ष चिकित्सक टोली खटिएका छन् र यस विभागको केन्द्रमा छिन् डा. दिक्षा जोशी।

‘मुटुरोगका लागि पनि वीर अस्पताल पुग्नुपर्छ’ भन्नेहरूको संख्या बढ्दै गएको छ। विभाग अहिले गतिशील मात्र नभई प्रभावकारी पनि छ। हप्तामा सात-आठ जटिल शल्यक्रिया यहाँ हुने गरेका छन्।

डा. दिक्षा जोशी नेपालको पहिलो महिला मुटु शल्यचिकित्सक हुन्। नेपालमा कार्डियाक सर्जनहरू हातगिन्ती मात्र छन् र महिला सर्जन जम्मा ६ जना मात्रै छन्।

उनले प्रारम्भिक चरणदेखि नै मुटु शल्यक्रिया क्षेत्रमा निरन्तर काम गर्दै आएकी छन्। डा. दिक्षाको लागि हरेक मुटु केवल एक अंग होइन, त्यो बिरामीको जीवन, परिवारको आशा र सम्पूर्ण संसारको धड्कन हो।

‘एव्री हार्ट म्याटरस्—हेर्नेहरूका लागि एउटा मुटु होला, तर हाम्रोमा आउने हरेक मुटु हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छ’, उनी भन्छिन्, ‘जुन दिन चिकित्सकलाई मुटुले छोँदैन, त्यो दिनदेखि शल्यक्रिया गर्न छाड्नुपर्छ।’

यो भावनाले उनलाई हरेक शल्यक्रियामा पूर्ण समर्पणका साथ लाग्न प्रेरित गर्छ।

प्रारम्भिक जीवन र अध्ययन यात्रा

ललितपुरको ठूलो संयुक्त परिवारमा जन्मिएकी दिक्षा एक दाई र चार दिदीकी कान्छी बहिनी हुन्। उनका बाबा रिटायर्ड बैंककर्मी र आमा गृहिणी हुनुहुन्छ। परिवारमा कुनै रोकटोक थिएन र पढाइ सधैं राम्रो भयो।

उनले नृत्य, क्रिकेट, साइक्लिङ र कार्यक्रम सञ्चालन जस्ता विविध गतिविधिमा सक्रिय सहभागिता जनाउँथिन्। एसएलसीमा प्रथम श्रेणी हासिल गरेपछि उनले विज्ञान पढ्ने निर्णय गरिन् र त्यसपछि चीनको थियानजिन मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन सुरु गरिन्।

चीनमा भाषा, संस्कृति र कठिन पाठ्यक्रमका कारण चुनौतीपूर्ण समय बित्यो। पाँच वर्षको एमबीबीएस र एक वर्षको इन्टर्नशिपपछि कार्डियाक सर्जरीमा रुचि जाग्यो। इन्टर्नशिपका क्रममा शल्यचिकित्सकहरूसँगको निकट सम्बन्धले उनलाई यो क्षेत्रको महत्त्व बुझ्न मद्दत गर्‍यो।

करियर र संघर्ष

स्नातकोत्तर अध्ययनका लागि उनलाई अमेरिकामा फेलोशिपको अवसर थियो, तर उनले नेपालमै रहन रोजिन्। परिवारको नजिक रहन उनलाई चाहियो।

सन् २०१२ मा नेपाल फर्किएर उनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मेडिकल अफिसरको रूपमा काम सुरु गरिन्। दिनहुँ ६-७ सर्जरीको तालिका हुने र १२–१५ घण्टा काम गर्ने उनको दिनचर्या निकै व्यस्त थियो।

‘व्यस्तता पनि एक किसिमको नशा हो,’ उनी भन्छिन्।

नेपालमा महिला कार्डियाक सर्जन हुनुमा दिक्षालाई गर्व छ तर उनी आफूलाई ‘महिला भएर होइन, आफ्नो कामले’ गर्व लाग्छ भन्छिन्। शल्यक्रिया थिएटरमा लिंगको कुनै भेदभाव हुँदैन, यहाँ केवल सीप र आत्मविश्वासले काम गर्छ।

गर्भावस्थामा पनि उनले आफ्नो पेशाप्रति समर्पण कम गरिनन्। तर, व्यस्तताका कारण छोरीको बाल्यकालका केही महत्वपूर्ण क्षण छुटेको महसुस गर्छिन्।

उनका श्रीमान् इन्जिनियर हुन् र उनी उनको सबैभन्दा ठूलो सहयोगी हुन्।

वीर अस्पतालमा सफलताको यात्रा

सात वर्ष गंगालालमा बिताएपछि दिक्षा वीर अस्पतालमा कार्डियोथोरासिक सर्जनको रूपमा कार्यरत छिन्। वीरमा मुटु शल्यक्रिया सेवा १२ वर्षदेखि स्थगित थियो। उनले आफ्नो टोलीसहित स्क्र्याचबाट काम सुरु गरिन्।

उनको नेतृत्वमा विभागले नयाँ उचाइमा पुगेको छ। १५ वर्षमुनिका र ७५ वर्षमाथिका बिरामीको सर्जरी निःशुल्क सेवा उपलब्ध छ। महँगा भल्भहरू डोनेसनबाट ल्याएर बिरामीलाई निःशुल्क प्रदान गरिन्छ।

नेपालमा कार्डियाक सर्जन जम्मा ३० जना मात्र छन्, तर बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। स्रोतसाधन अभाव, पुरानो प्रविधि र चुनौतीका बाबजुद पनि उनले टिमवर्क र जोशले धेरै सम्भव बनाएको बताउँछिन्।

चुनौती र तितामिठा अनुभव

कोरोना महामारीका बेला उनले एउटा बिरामीको जीवन बचाउन प्रयास गर्दा त्यस बिरामीको मृत्युले उनको मनमा गहिरो छाप छोड्यो।

एक २९ वर्षीय मोटरसाइकल दुर्घटनामा परेकाको ६ घण्टा लामो जटिल सर्जरी सफलतापूर्वक सम्पन्न गरेर जीवन बचाइएको अनुभव पनि छ।

७ वर्षीया बालिकाको जन्मजात मुटु रोगको निःशुल्क सफल सर्जरीले उनलाई ठूलो सन्तोष दिएको छ।

नेपालको मुटु उपचारमा चुनौती

नेपालमा जन्मजात मुटु रोग, रियुमेटिक हृदय रोग र कोर्नरी आर्टरी रोगको प्रकोप बढ्दो छ। विकसित देशहरूमा रियुमेटिक हृदय रोग लगभग समाप्त भइसकेको छ, तर नेपालमा यो अझै मुख्य समस्या हो।

स्रोतसाधनको अभाव, सीमित जनशक्ति र पुरानो प्रविधिले उपचारमा चुनौती थप्छ।

तर, डा. दिक्षाको टिम वीर अस्पतालमा दिनहुँ २-३ जटिल शल्यक्रिया गर्ने गरेको छ। राति पनि इमर्जेन्सीमा काम गर्न तयार हुन्छन्।

भविष्य र सपना

डा. दिक्षाले नयाँ पुस्ताका चिकित्सकलाई प्रशिक्षण दिइरहेकी छन्। उनको सपना नेपालमा यस्तो स्वास्थ्य प्रणाली बनाउनु हो जहाँ कुनै बिरामी पैसाको अभावमा उपचारबाट वञ्चित नहोस्।

‘हरेक मुटुको धड्कन महत्त्वपूर्ण छ’ उनको विश्वास हो जसले उनलाई हरेक दिन नयाँ ऊर्जा दिन्छ।

व्यक्तिगत जीवन र दिनचर्या

उनको दिन बिहान ५ बजे योग र ध्यानबाट सुरु हुन्छ। छोरीलाई स्कूल पठाउने, दुई वर्षे छोरालाई खुवाउने र अस्पतालका विभिन्न कार्यहरूमा व्यस्त रहने गर्छिन्।

‘कहिलेकाहीँ २४ घण्टा पनि पर्याप्त हुँदैन’ उनी हाँस्दै भन्छिन्।

उनले परिवारसँग समय बिताउने प्रयास गर्छिन् तर इमर्जेन्सीका लागि सधैं तयार रहनुपर्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।