पोखरा । नेसनल प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनःस्थापनका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् ।बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले एन प्याब्सन कास्की मार्फत विभिन्न विद्यालयले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम हस्तान्तरण गर्ने गरी सहयोग गरेका हुन् ।

यसरी सहयोग हस्तातरण गर्नेमा पोखरा–५ मा रहेको हिलसाइड इङ्लिस सेकेन्डरी स्कुलबाट ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । उक्त रकम विद्यालयका प्रिन्सिपल डिल्लिराम भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुराम बरालले एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, उपाध्यक्ष राजु केसी, कोषाध्यक्ष राजु कायस्थलाई हस्तान्तरण गरेका थिए ।
पोखरा– २ मा अवस्थित लाविन रेसिडेन्सियल स्कुलबाट विद्यालयका सञ्चालक समिति अध्यक्ष दिपु भारी र विद्यालयका प्रिन्सपल रोजीना श्रेष्ठले ७७ हजार ७ सय ७७ रुपैया एन प्याब्सन कास्कीलाई हस्तान्तरण गरेका छन् । यसअघि विद्यालयको तर्फबाट प्रधानमन्त्री राहतकोषमा १ लाख १ रुपैया सहयोग गरिसकेको छ ।
त्यस्तै पोखरा–२६ मा अवस्थित अल्फा एकेडेमीबाट विद्यालयका प्रिन्सिपल रमेशराज पौडेल, एकेडेमीक डिन सञ्जीव पौडेल र अल्फा बाल क्लबकी अध्यक्ष रोजीना पुरीले ७१ हजार, पोखरा–२६ को ओएसिस सेकेण्डरी स्कुलबाट विद्यालयका प्रिन्सिपल हेम रानाभाट, सञ्चालक महेन्द्र पौडेल, भाइस प्रिन्सिपल सुविन तिम्सिनाले ५१ हजार ५ सय एन प्याब्सन कास्कीलाई हस्तान्तरण गरेका छन् ।
त्यसैगरी पोखरा–२९ को होली माउन्ट इङ्लिस स्कुलबाट विद्यालयका प्रिन्सिपल तोलाकान्त पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङले ५१ हजार ५ सय र पोखरा–३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज मा.वि. बाट प्रिन्सिपल अर्जुनप्रसाद अधिकारी, एकेडेमीक डिन टंकराज सुवेदी, सञ्चालक मित्र बन्धु सुवेदीले ४० हजार रुपैया एन प्याब्सन कास्कीलाई हस्तान्तरण गरेका छन् । यस अघि ज्ञानज्योतिले नेपाल रेडक्रस सोसाईटी मार्फत २५ हजार रुपैया सहयोग गरिसेको छ । ती विद्यालयले विद्यालय प्रशासन विद्यालयका कर्मचारी, विद्यार्थी मार्फत रकम संकलन गरेका थिए ।
रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले यी विद्यालयले एन प्याब्सन कास्की मार्फत प्रधानमन्त्री राहतकोषमा रकम जम्मा गर्ने गरी हस्तान्तरण गरेका हुन् ।
एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङका अनुसार बाढीपहिरोका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने मानवीय उद्देश्यले विद्यालय तथा शैक्षिक संस्थाहरूबाट संकलित रकम केन्द्रीय समिति मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिए । विपद्का बेला निजी तथा संस्थागत विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभावित समुदायलाई गरेको सहयोग उल्लेखनिय रहेको उनको भनाई थियो ।

अध्यक्ष गुरुङले प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति हुने भएकाले पीडितको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनको सामूहिक प्रयासबाट संकलित सहयोगले विपतमा परेका नागरिकलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।
एन प्याब्सन कास्कीले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा आफ्नो संस्थागत सहभागिता निरन्तर राख्ने जनाएको छ। बाढीपहिरोजस्ता विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्न शैक्षिक संस्था, स्थानीय समुदाय, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको अध्यक्ष गुरुङको भनाइ छ।
कार्यक्रममा सहभागी विद्यालय तथा प्रतिनिधिहरूले विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।








