बुटवल । लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि.बीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी भीभीआईपी पाहुनालाई केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराइनेछ। साथै, लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी आउने पर्यटकलाई केबलकार टिकटमा २० प्रतिशत छुट दिइनेछ।
बसन्तपुर हिल स्टेशनमा सय वर्ष पुरानो दुर्गा मन्दिर, ध्यान केन्द्र, स्काइ साइक्लिङ, जिपलाइन, स्तरीय रेष्टुरेन्ट, सेमिनार हललगायत पर्यटकीय पूर्वाधार छन्। समुद्री सतहबाट एक हजार मिटर उचाइमा अवस्थित यस क्षेत्र तराईभन्दा १० डिग्री चिसो हुने भएकाले भारतीय तथा तेस्रो मुलुकका बौद्धमार्गी पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरिएको छ।
लुम्बिनी केबलकार अष्ट्रियाको डुपलमायर कम्पनीले बनाएको आधुनिक प्रविधि प्रयोग गरिएको छ, जसमा २५ वटा गोण्डुला रहेका छन् र दैनिक ६ हजार यात्रु क्षमता रहेको छ। कम्पनीले बसन्तपुरमा पाँचतारे होटल, बैंक्वेट हल, स्वीमिङ पुल र क्यासिनोसमेतसहितको सुविधा ल्याउने तयारी गरेको छ।
दुवै संस्थाले यो सम्झौताले लुम्बिनी र बसन्तपुर दुबैको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।









