कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएको छ। महिनावारी भएका कारण छाउगोठमा सुतिरहेकी उनलाई शुक्रबार राति सर्पले डसेको थियो।

कमला हालै मात्र भारतबाट श्रीमानसँगै फर्किएकी थिइन्। उनी भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कृष्णपुरमा एक तले पक्की घर बनाएकी थिइन्। तीन छोराको भविष्य बनाउने सपना बोकेर उनी घर फर्किएकी थिइन्।
शुक्रबार साँझ महिनावारी भएपछि उनी परम्पराअनुसार छाउगोठमा सुत्न गइन्। पानी चुहिने भएकोले आफ्नै घरको गोठमा बस्न नमानेर छिमेकी तथा नातामा जेठाजु पर्ने सुके आउजीको घरमा बनाइएको छाउगोठमा गइन्।
राति सुतिरहेकै बेला उनलाई सर्पले बाँया गालामा डस्यो। बोल्न सक्ने अवस्थामा रहेकी उनले छरछिमेकीलाई खबर गरेकी थिइन्। डसेको करेत सर्प उनका बिस्तारानजिकै फेला परेको थियो, जसको भिडियो पनि स्थानीयहरूले खिचेका छन्।
छिमेकी सुचित्र शाहका अनुसार राति करिब साढे १२ बजे सर्पदंशको जानकारी पाएका थिए। त्यसपछि उनलाई अटोरिक्सामा राखेर सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली थिएन। झन्डै डेढ घण्टापछि मात्र आईसीयूमा राखिए पनि उनलाई बचाउन सकिएन।
शनिबार साँझ ८ बजे कमलाको मृत्यु भयो। महिनावारी भएका कारण छाउगोठमा बसेकी कमलाको सर्पदंशबाट मृत्यु भएपछि उनका ६, ८, र १२ वर्षका तीन छोराहरू टुहुरा भएका छन्। श्रीमान भारतबाट अन्त्येष्टिका लागि फर्किंदै छन्।
कमलाको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। अछामको मेल्लेख गाउँपालिका–८ स्थायी घर भएकी कमला ‘घरमा सुत्यो भने देवता रिसाउँछन्’ भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुतिरहेकी थिइन्।
छाउपडी कुप्रथाले फेरि लियो ज्यान
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाका अनुसार नगरपालिकाले छाउपडी कुप्रथाको अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको भए पनि परम्परा अझै कायमै रहेको उनले बताए।

ओझाले भने, “बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्या देखिएको थियो। त्यसपछि वडा–वडामा सचेतनामूलक कार्यक्रम गरेका थियौं। तर अझै प्रथा नरोकिँदा यस्तो दुःखद् घटना भयो।”
नगरपालिकाले आगामी आर्थिक वर्षमा छाउपडी उन्मूलनका लागि विशेष अभियान सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरिसकेको मेयर ओझाले बताए।
यो एक्लो घटना होइन
कमला आउजी छाउपडी कुप्रथाका कारण अकालमा ज्यान गुमाउने एक्लो महिला होइनन्। २०७९ साउन २३ मा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको पनि छाउगोठमै सर्पले डस्दा मृत्यु भएको थियो।
सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान चलाएको थियो। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार, सुदूरपश्चिमका सात जिल्लामा ७ हजार ५४५ छाउगोठ भत्काइएको छ। कञ्चनपुरमा मात्रै २३० वटा, अछाममा सबैभन्दा धेरै ५८१३, बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६ र डडेलधुरामा २३ छाउगोठ भत्काइएको थियो।
तर, कानुन निर्माण र गोठ भत्काउने अभियान भए पनि छाउपडीको कुप्रथा भने सामाजिक रुपमा अझै उन्मूलन हुन सकेको छैन।
कानुन छ, कार्यान्वयन छैन
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार, महिलालाई महिनावारी वा सुत्केरी अवस्थामा छाउगोठमा राख्ने, भेदभाव गर्ने, अपमानजनक व्यवहार गर्ने वा गराउने कार्य अपराध मानिन्छ। यस्तो कार्य गरेमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद् गरेमा दुब्बर सजाय हुने व्यवस्था समेत गरिएको छ। साथै, दफा १६९ मा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि छ।
तर, कानुन हुँदाहुँदै पनि परम्परा र अन्धविश्वासको गहिरो प्रभावले गर्दा महिलाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ।








