रोहित वस्नेत
जेष्ठ २६ पोखरा : गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञमा एक सय एक हवन कुण्डमा हवन भइरहेको हवानात्मक कार्य सहित अन्य धार्मिक अनुष्ठानहरु सोमबार समापन हुँदैछन ।

धार्मिक अनुष्ठानको समाप्तिसंगै कोटीहोममा सहभागी भएका चारसय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिदास बाबाको आगमन भएको छ ।
हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् । भने अरु मण्डपमा ३,३ जना ब्रामणले नृत्य हवन गरिरहेका छन् । आज नै कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको मिडीया संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटीहोममा आइतबार पनि ठुलो संख्यामा भक्तजनहरु सहभागी भए हालसम्म कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको आयोजकको दाबी छ ।
शनिबार २१ करोड दिप प्रज्वलन भएको थियो उक्त दिन लाखौँ भक्तजन सहभागी भएका थिए । हालसम्म करिब सात करोड ५० लाख रुपैया रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोममा धार्मिक अनुष्ठान सकिए पनि प्रवचानात्मक कार्यक्रममा उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।
कोटीहोम सफल भएको भन्दै आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष समेत गरिएको छ भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको छ ।
कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले पोखरा लगायत गण्डकी प्रदेश र बाहिरबाट पनि भक्तजनहरुको सहभागिता रहेको बताउदै कोटीहोम अपेक्षा गरिए भन्दा पनि सफल भएको बताएका छन् । जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको छ । 









