२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

“उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी”

रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले अमेरिका, दक्षिण कोरिया र जापानलाई उत्तर कोरियाविरुद्ध कुनै सैन्य गठबन्धन नगर्न कडा चेतावनी दिएका छन्।

उत्तर कोरियाको वोनसानमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका लाभरोभले ती मुलुकहरूलाई उत्तर कोरियालाई लक्षित गर्दै कुनै सुरक्षा गठबन्धन वा सैन्य सम्झौता नगर्न सुझाव दिएका हुन्। उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा विदेशमन्त्री चोई सोन हुईसँग भेटवार्ता पनि गरेका थिए।

रूसी विदेशमन्त्रालयले टेलिग्राममा पोस्ट गरेको भिडियोमा लाभरोभ र किम जोङ उनबीच हात मिलाएको र अंकमाल गरेको दृश्य देखिएको छ। विश्लेषकहरूले यस भेटलाई उत्तर कोरिया–रूस सम्बन्ध थप प्रगाढ हुँदै गएको संकेतका रूपमा लिएका छन्।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले भने, “हामी चेतावनी दिन चाहन्छौं कि यी कूटनीतिक सम्बन्धहरूलाई कुनै मुलुकविरुद्ध गठबन्धन बनाउन प्रयोग नगरियोस्, चाहे त्यो उत्तर कोरिया होस् वा रूस।”

“उत्तर कोरियाको परमाणु नीति जायज”

तीनदिने भ्रमणमा रहेका लाभरोभले शनिबार उत्तर कोरियाली समकक्षीसँग भेटपछि भने, “रूस उत्तर कोरियाले किन परमाणु हतियार विकास गरिरहेको छ भन्ने कुरा बुझ्छ। यो प्रविधि उत्तर कोरियाली वैज्ञानिकहरूको कठोर मेहनतको परिणाम हो, जसको हामी सम्मान गर्छौं।”

रूसी समाचार एजेन्सी तासका अनुसार लाभरोभले रूस–युक्रेन युद्धका विषयमा पनि उत्तर कोरियाली नेतृत्वसँग छलफल गरेका थिए। उत्तर कोरियाले रूसलाई सैनिक तथा हतियार आपूर्ति गरिरहेको बताइन्छ। त्यसको सट्टामा रूसले उत्तर कोरियालाई सैन्य तथा आर्थिक सहयोग प्रदान गरिरहेको छ।

युक्रेन युद्धमा २५–३० हजार सैनिक पठाउने तयारीमा उत्तर कोरिया!

युक्रेनी गुप्तचर निकायका अनुसार उत्तर कोरिया अहिले रूसलाई २५ हजारदेखि ३० हजारसम्म थप सैनिक पठाउने तयारीमा छ। गत वर्ष उसले झण्डै ११ हजार सैनिक पठाएको थियो।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार, नेता किम जोङ उनले युक्रेन युद्धमा रूसका सैन्य कदमहरूको समर्थन गरेका छन्। उनले भने, “प्योङयाङ र मस्कोबीच रणनीतिक विषयमा समान सोच रहेको छ।”

अमेरिका, दक्षिण कोरिया लगायतका देशहरूले रूसले उत्तर कोरियालाई संवेदनशील प्रविधि हस्तान्तरण गर्न सक्ने आशंका व्यक्त गरेका छन्, जसले उत्तर कोरियाको परमाणु तथा मिसाइल कार्यक्रमलाई थप तीव्र बनाउने सम्भावना रहेको बताइएको छ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रूसलाई पूर्ण र बिना सर्त समर्थन गर्ने घोषणा गरेका छन्। रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभसँगको भेटका क्रममा उनले भने, “युक्रेनी संकटको मूल कारण समाधान गर्न रूसले चालेका सबै कदमहरूको म दृढ समर्थन गर्छु।”

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेयता दुई देशबीच युद्ध अझै जारी छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।