सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकुमा बिहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बिहीबार बिहान ५ बजे इकुमा सडकमाथिबाट पहिरो खसेको र सडक तलसम्म भासिएको कारण राजमार्ग पूर्णरूपमा बन्द भएको हो। “माथिबाट पहिरो आएको छ, तलबाट सडक भासिएको छ। माटो थेग्ने पर्खाल नबनाई सडक खुलाउन कठिनाइ छ,” कार्कीले भने।
उनले सडक खुलाउने सम्बन्धमा सडक विभागसँग समन्वय भइरहेको जानकारी दिए। हाल सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ। सडक खुलाउन आवश्यक प्राविधिक व्यवस्थापन र मर्मत कार्य तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।
यो राजमार्ग नेपाल–चीन जोड्ने प्रमुख मार्ग हो, जसले गर्दा यसको अवरुद्ध हुँदा व्यापारिक र यातायात गतिविधिमा समेत असर परेको छ। स्थानीय प्रशासन र सडक विभागले पहिरो हटाएर सडक सुचारु गर्न प्राथमिकताका साथ काम गरिरहेको बताइएको छ।









