इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि हमाससँग कतारमा हुने प्रस्तावित वार्ताका लागि आइतबार एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयका अनुसार हमासले राखेका मागहरू ‘अस्वीकार्य’ भए पनि वार्ताको निमन्त्रणा स्वीकार गरिएको छ।

हमासले कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा प्रस्तावित योजनामा संशोधनको माग गरेको छ। प्यालेस्टिनी अधिकारीहरूका अनुसार हमासले स्थायी युद्धविरामको वार्ता असफल भए पनि पुनः युद्ध नहुने ग्यारेन्टीसहित केही संशोधनहरू प्रस्ताव गरेको छ। शुक्रबार राति हमासले ६० दिनको युद्धविरामसम्बन्धी प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिँदै वार्ताका लागि तयार रहेको जनाएको थियो।
यद्यपि, वार्ताका लागि कतार टोली पठाउने घोषणापछि पनि इजरायली सेनाले गाजा क्षेत्रमा बमबारी जारी राखेको छ। अलजजिराका अनुसार पछिल्लो २४ घण्टामा भएको आक्रमणमा कम्तीमा ७८ जना मारिएका छन्।









