इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ। इरानको सरकारी टेलिभिजन च्यानल (IRINN) ले सार्वजनिक गरेको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख छ।

इरानले अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको दाबी गरेको छ। उक्त कारबाहीपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले जवाफी हमला गरेको थियो। इरानको दाबीअनुसार यो आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरेको हमलाको जवाफ थियो। यद्यपि, कतारले भने सबै मिसाइलहरू आकाशमै खसालिएको जनाएको छ।
इरानी सरकारी टेलिभिजनका अनुसार, ट्रम्पको बिन्तीपछि इरान युद्धविरामका लागि तयार भएको हो। यसअघि युद्धविरामको समाचार आए पनि इरानले त्यसलाई अस्वीकार गरेको थियो। हाल युद्धविरामको घोषणाले क्षेत्रीय तनाव कम हुने अपेक्षा गरिएको छ।









