रोहित बस्नेत चैत्र २९ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजले संयुक्त राष्ट्रसंघका सुरक्षा समन्वय अधिकृत देवीराम गौतमलाई पोखरामा भव्य स्वागत गरेको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच समाजका अध्यक्ष तथा पदाधिकारीहरूले गौतमलाई खादा तथा फूलमालाले स्वागत गर्दै सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रूपमा आतिथ्यता ग्रहण गरेका गौतमले हिजो २० जनाबाट सुरु भएको संस्था आज ३५० भन्दा बढी सदस्यमा विस्तार भएको देख्दा अत्यान्तै खुशी लागेको बताउनु भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२, कुर जन्मनुभएका देवीराम गौतम संस्था दर्ता हुने समयमा पोखरामा सशस्त्र प्रहरी बलका अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। उक्त समयमा उहाँको महत्वपूर्ण सहयोग र सहकार्यले संस्थाको स्थापना तथा विकासमा उल्लेखनीय भूमिका खेलेको थियो। हाल उहाँ संयुक्त राष्ट्रसंघमा सुरक्षा समन्वय अधिकृतको जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रिय स्तरमा सेवा दिइरहनु भएको छ।
समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार ज्ञानहरि आचार्यले अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिनिधित्व गर्दै महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु गौतमलाई स्वागत गर्न पाउदा सम्पूर्ण देश र समुदायका लागि गर्वको विषय भएको बताउनु भएको छ । उहाँले यस्ता सक्षम र प्रतिबद्ध व्यक्तित्वहरूले विश्व मञ्चमा नेपालको छवि उज्यालो बनाइरहेको उल्लेख गर्दै नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गर्नुभयो ।
समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डेले समाजले यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई सम्मान गर्न पाउनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्नुभएको छ। उहाँले यस्ता महत्वपूर्ण ब्यक्तिको स्वागतले समुदायमा सकारात्मक ऊर्जा प्रवाह हुनुका साथै अघि बढ्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
समाजका निवर्तमान अध्यक्ष दधिराम खनालले संस्थाको स्थापना कालदेखि नै प्राप्त सहयोगमा उहाँको भूमिका अतुलनीय रहेको बताउनु भएको छ। उहाँले प्रारम्भिक चरणमा गरिएको सहकार्य, मार्गदर्शन र समर्पणले संस्थालाई आजको अवस्थासम्म पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै यस्ता व्यक्तित्वहरूको योगदानकै कारण संस्था मजबुत बन्दै गएको भन्दै आगामी दिनमा पनि यस्ता कुराहरुलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
समाजका अध्यक्ष राम प्रसाद पौडेलले कार्यक्रमको समापनका अवसरमा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै महत्वपूर्ण व्यक्तित्वको स्वागत गर्न पाउनु समाजका लागि गर्वको विषय भएको उल्लेख गर्नुभएको छ । उहाँले यस्ता अवसरहरूले आपसी सम्बन्ध अझ सुदृढ बनाउने र समुदायलाई एकताबद्ध गर्दै सकारात्मक दिशातर्फ अग्रसर गराउने विश्वास गर्नुभयो।
पौडेलले आगामी दिनमा पनि समाजले यस्ता प्रेरणादायी व्यक्तित्वहरूसँग सहकार्य गर्दै सामाजिक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले स्वागत मन्तव्यका क्रममा यहाँको उपस्थिति र स्वागतले सम्पूर्ण समाजलाई थप प्रेरणा र उत्साह प्रदान गरेको उल्लेख गर्दै स्वागत गर्नुभएको थियो ।

समाजका महासचिव कृष्ण रानाभाटले कार्यक्रमलाई कुशलतापूर्वक सञ्चालन गर्दै सम्पूर्ण समारोहलाई व्यवस्थित र प्रभावकारी बनाउनु भएको थियो। कार्यक्रममा समाज पदाधिकारी सदस्य तथा आजिवन सदस्यको बाक्लो उपस्थिती रहेको थियो ।








