पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ ।उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबि आस्था र गुरुङ गहना घर प्रालिका तर्फबाट संचालक सीमा गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।


सो अवसरमा संचालक गुरुङले खेलाडी भनेका देशकै गहना भएकाले आफूले सहयोग गर्न चाहेको बताइन् । हालै मात्र नेपाली फुटबल साम्बाले उपचार सहयोगार्थ गरेको याचनाले आफू संवेदनशील बनेको उल्लेख गर्दै खेलाडीको सम्मानमा हुन लागेको पोखरा स्पोर्टस् अवार्डमा जोडिएको बताइन् । आफू विदेश नगई स्वदेशमै केही गर्न चाहेकाले व्यवसायमा हात हालेको जानकारी दिइन् । मानिसले चाहेमा स्वदेशमै पनि प्रगति गर्न सकिने उनको भनाइ थियो ।
सहयोगप्रति मञ्चका अध्यक्ष एमबि आस्थाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । सो अवसरमा मञ्चका महासचिव परशुराम शर्माले संचालन र धन्यवाद ज्ञापन उपाध्यक्ष राजाराम पौडेलले गरे । २०७८ असोज २१ मा स्थापित गृहना घरको हाल पोखरा न्यूरोडमै तीन वटा शाखा कार्यालय सञ्चालित छन् । जसअनुसार गुरुङ गहनाघर प्रालिसहित गुरुङ गहना घर र गोल्ड स्पट हुन् ।

आगामी वैशाख १८ गते हुने उक्त अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष समेत रहेका मञ्च अध्यक्ष एमबि आस्थाले जानकारी दिए ।गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।मञ्चले पोखरा स्पोर्टस् अवार्ड सभ्य र भब्य बनाउनका लागि मञ्चका अध्यक्ष एमबी आस्था मगर मूल आयोजक समिति संयोजक रहने गरि विभिन्न १० वटा उपसमिति गठन गरेको छ ।
जसको सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले छन् । आर्थिक उपसमिति संयोजक जिम्मेवारी कोषाध्यक्ष विमलप्रसाद तिवारीलाई दिइएको छ । यसैगरी, प्रचारप्रसार संयोजकमा महासचिव परशुराम शर्मा र सहसंयोजक पूर्व महासचिव विजय नेपाल छन् । स्वागत तथा अतिथि सत्कारमा निवर्तमान अध्यक्ष दीननाथ बराल, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजकमा पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मञ्च व्यवस्थापन तथा सांस्कृतिक उपसमिति संयोजकमा सचिव राजु गिरी चयन भए । फोटो तथा भिडियो व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य गिता रानाले पाए । अनुगमन तथा मूल्यांकन उपसमिति संयोजकमा पूर्व कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ र संघसंस्था समन्वय संयोजक राजाराम पौडेल र क्वीक रेस्पोन्स संयोजक उमा आले छन् ।
मञ्चका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार एवं कानूनी सल्लाहकारलाई अवार्डको सल्लाहकारमा चयन गरिएको छ । अन्य उपसमिति आवश्यकता बमोजिम थप गरिने जनाइएको छ । मञ्चले यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डसहित ८ विधामा अवार्ड प्रदान गर्दैछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, पिपल च्वाइस अवार्ड, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेल संघसंस्था रहेका छन । ठिक एक महिनापछि हुने उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।









