२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

‘नयाँ कांग्रेस’को नारामाथि कालो धब्बा : रोमी गौचन थकालीद्वारा छोरा योगेशलाई अघि सार्दै मुस्ताङमा परिवारवाद पुनरावृत्ति

मुस्ताङ ।

नेपाली कांग्रेसले हालै दोस्रो विशेष महाधिवेशन सम्पन्न गरेसँगै पार्टी रूपान्तरण, युवा नेतृत्व र नीतिगत सुधारको चर्चा चुलिएको छ। महाधिवेशनबाट युवा नेता गगन थापा महामन्त्रीमा निर्वाचित भएसँगै ‘नयाँ कांग्रेस’को नारा स्थापित गर्ने प्रयास भइरहँदा पार्टीभित्र पुरानै रोगका रूपमा रहेको परिवारवाद भने फेरि सतहमा आएको देखिएको छ।

करिब तीन दशकअघि नेपाली कांग्रेसमा प्रभावशाली निर्णय प्रक्रियामा रहेका नेता रोमी गौचन थकाली पछिल्ला वर्षहरूमा पनि आफ्नै परिवारलाई राजनीतिको केन्द्रमा राख्ने प्रयासमा देखिएका छन्। त्यसै क्रममा उनका छोरा योगेश गौचन थकालीलाई प्रत्यक्ष राजनीतिमा स्थापित गराउने प्रयास निरन्तर हुँदै आएको छ । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रबाट खाली सिफारिस ल्याई रोमी गौचन थकालीले आफ्नो छोरा योगेश गौचन थकालीलाई मुस्ताङबाट उम्मेदवार बनाएका थिए। चुनाव जित्न व्यापक आर्थिक स्रोत परिचालन गरिएको आरोप लागे पनि अन्ततः रोमी गौचन थकाली स्वयं सांसद बन्न सफल भए। तर, संसदमा मुस्ताङको विकास र आम नागरिकका सरोकारका विषय प्रभावकारी रूपमा उठाउन नसकेको भन्दै उनको भूमिकामाथि निरन्तर प्रश्न उठ्दै आएको छ।

रोमी गौचन थकाली यसअघि पटक–पटक मुस्ताङबाट सांसद निर्वाचित भइसकेका नेता हुन्। उनी वाणिज्य मन्त्री तथा पर्यटन सहायक मन्त्रीसमेत भइसकेका छन्। लामो राजनीतिक अनुभव हुँदाहुँदै पनि पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिनुभन्दा आफ्नै परिवारलाई अघि बढाउने रणनीतिमा केन्द्रित भएको आरोप उनीमाथि लाग्दै आएको छ।

दोस्रो विशेष महाधिवेशनपछि नेपाली कांग्रेसले ‘नयाँ सोच, नयाँ नेतृत्व’को सन्देश दिन खोजे पनि मुस्ताङमा भने पुरानै परिवारवादी अभ्यास दोहोरिने संकेत देखिन थालेको छ। जब बुबा समानुपातिक सांसद र छोरा प्रत्यक्ष उम्मेदवार बन्ने अवस्था सिर्जना हुन्छ, तब पार्टीका समर्पित कार्यकर्ता, क्रियाशील सदस्य र ऊर्जावान युवाहरू निराश हुनु स्वाभाविक मानिन्छ।

निर्वाचन प्रक्रिया झन्–झन् खर्चिलो बन्दै गएको वर्तमान अवस्थामा पटक–पटक चुनाव लड्न प्रयोग हुने आर्थिक स्रोतको पारदर्शितामाथि समेत प्रश्न उठ्न थालेको छ। नेपाली कांग्रेसभित्र ‘भाउजुको टिकट पसल’ बन्द भएको दाबी गरिए पनि, मुस्ताङमा अब अर्को परिवारवादी ‘पसल’ खुल्दैछ कि ? भन्ने प्रश्नले राजनीतिक वृत्त तातेको छ। यसको उत्तर आगामी राजनीतिक घटनाक्रमले दिनेछ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।