काठमाडौं– केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।

अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो ।
मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ ।
शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, ‘शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असामान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।’
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए।
वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरूको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।









