बेलायतको लुटन र हाइवेकम आसपासका क्षेत्रमा ड्रग आपूर्तिसम्बन्धी अभियोगमा एक नेपाली गत महिना जेल चलान भएका छन्। लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई एल्सबरी क्राउन कोर्टले दुई वर्षको जेल सजाय सुनाएको हो।

हाइवेकमस्थित किचनर रोडमा लागूऔषध (ड्रग) आपूर्ति गर्दै गरेको अवस्थामा थेम्स भ्याली प्रहरीले उनलाई २०२४ अक्टोबर २८ मा पक्राउ गरेको थियो। लामा साथमा २८ पोका हेरोइन र २८ पोका क्रयाक कोकेन फेला परेको थियो। अनुसन्धानबाट उनी संगठित लागूऔषध तस्करीमा संलग्न रहेको पुष्टि भएको थियो।
त्यसैगरी, आफ्नै लुगामा लुकाएर क्लास ए लागूऔषध राखी रंगेहात पक्राउ परेका २७ वर्षीय उत्तम गुरुङ अहिले ३ वर्षको जेल सजाय भोगिरहेका छन्। उनलाई आसफोर्डको न्यू स्ट्रिटमा पक्राउ गर्दा शरीरमा ५० वटा हेरोइन र क्रयाक कोकेनका पोका फेला परेका थिए।
गत वर्ष जनवरी २६ मा क्यान्टरबरी क्राउन कोर्टले उनले आफूमाथि लागेका सबै अभियोग स्वीकार गरेपछि उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो।
नेपाली समुदायमा अपराधको संलग्नता बढ्दै
बेलायतमा नेपाली जनसंख्या वृद्धि हुँदै जाँदा फौजदारी अपराधमा संलग्नता समेत बढिरहेको देखिन्छ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार, नेपालीहरू ओभरस्टे, करणी, हत्या प्रयास, सामाजिक सुरक्षामा ठगी, कुटपिट, भौतिक आक्रमण, सम्पत्ति क्षति, यौन दुर्व्यवहार, वालवालिकाको आपत्तिजनक तस्बिर वितरण, बैंकिङ कसुर (क्रेडिट कार्ड दुरुपयोग गरी फरार हुने) जस्ता अभियोगमा प्रहरी हिरासत हुँदै जेल चलान हुने क्रम बढ्दो छ।
नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार, सन् २०२५ यता मात्रै दर्जनभन्दा बढी नेपाली गम्भीर अपराधमा संलग्न भएर प्रहरी हिरासतमा परेका छन्। सिर्जनशील अपराधहरूमा संलग्न भए पनि थुप्रैले दूतावासलाई जानकारी नदिने वा पछि अदालतको प्रक्रिया चलेपछि नबताउने गरेका छन्।
समाजमा नकारात्मक असर
दूतावासका अनुसार, यो आर्थिक वर्षमा १९८ जनाले सम्बन्धविच्छेदका लागि वारेसनामा दिएका छन्। उपनियोग प्रमुख दुवाडीका अनुसार, पारिवारिक बेमेल, आक्रोश, र मानसिक तनावका कारण धेरै नेपाली आपराधिक गतिविधितर्फ उन्मुख भएका छन्।

उनले भने,
“एउटा व्यक्तिले अपराध गर्दा व्यक्तिगत मात्र नभई सम्पूर्ण नेपाली समुदाय र राष्ट्रकै प्रतिष्ठामा आंच पुग्ने भएकाले, सबैले संयमित भई बेलायती कानुनको पूर्ण पालना गर्नुपर्छ।”
दूतावासले आवश्यक परामर्श प्रदान गर्न सधैँ तत्पर रहेको जनाएको छ।
यौन अपराधमा सचेत रहन आग्रह
ह्याम्पसायर कन्स्टाबुलरीको इन्टरनेट चाइल्ड एब्युज टिमले नेपाली भाषामा सचेतना सन्देश जारी गर्दै १८ वर्षभन्दा कम उमेरका बालबालिकासँग सम्बन्धित यौन क्रियाकलाप वा अश्लील तस्बिरहरू खिच्ने, राख्ने वा वितरण गर्ने कार्य बेलायतमा गंभीर अपराध मानिने जानकारी गराएको छ।
उनीहरूको अनुसार,
-
१८ वर्षभन्दा कम उमेरका व्यक्तिको यौन मुद्रामा खिचिएका तस्बिर/भिडियो (कागजी वा डिजिटल) राख्नु,
-
यस्ता सामग्री च्याटरुम, इमेल, मोबाइल एप्स, युएसबी वा फाइल सेयरिङमार्फत पठाउनु,
-
कुनै पनि माध्यमबाट तिनीहरूको यौनिक तस्बिर उत्पादन वा वितरण गर्नु कानुनी अपराध हो।
एकपटक अपराध गरेपछि दीर्घकालीन असर
बेलायती कानुनविद् राजु थापाका अनुसार,
“बेलायतमा एकपटक अपराध गरेपछि त्यसको अभिलेख लामो समयसम्म रहन्छ। त्यसले घर किन्न, बैंकबाट मोर्गेज लिन, जागिर पाउन, स्थायी बसोबास (PR) वा भिसा विस्तारमा समेत नकारात्मक असर पार्छ।”
उनले थप भने,
“बेलायतमा कानूनभन्दा माथि कोही छैन। आक्रोशमा आएर कुनै अपराध नगर्नुहोस् — चाहे त्यो हातपात, यौन दुव्र्यवहार, चोरी, ठगी वा अध्यागमन उल्लंघन नै किन नहोस्।”








