ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले वर्षौँदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई नेपाल–भारत दुवै देशको हितमा अघि बढाउन गृहकार्य भइरहेको बताएका छन्।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनासम्बन्धी महत्वपूर्ण सम्झौता गर्न मन्त्रालयले तयारी गरिरहेको छ।
प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतबीच सम्झौता भएको २० वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुँदा हालसम्म नेपालले करिब एक खर्ब रुपैयाँ घाटा बेहोर्नु परेको उल्लेख गरे।
उनले पञ्चेश्वर लगायतका परियोजनाहरू दुई पक्षीय हितमा रहेर अघि बढाउन संवाद र सहकार्य आवश्यक रहेको बताए। प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर परियोजनामा बाँकी रहेका जटिलताहरू समाधान गर्ने उद्देश्यले मन्त्रालय गृहकार्यमा जुटिरहेको उनले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ गते हुने तयारी भइरहेको उनले उल्लेख गरे।
मन्त्री खड्काले नेपालमा ऊर्जा क्षेत्रको अपार सम्भावना रहे पनि स्रोतसाधनको अभाव, आर्थिक कठिनाइ र कानुनी जटिलताका कारण पश्चिम सेतीजस्ता महत्वपूर्ण परियोजना लामो समयदेखि अघि नबढेको पनि बताए।









