रोहित वस्नेत : साउन २ काठमाडौं

पोखरामा गण्डकी कोटीहोम सकिए लगतै मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा काठमाडौँको पशुपति मन्दिर क्षेत्रमा श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ – २०८२ शुरु भएको छ । हिजो साउन १ गतेबाट आगामी भदौ २१ गतेसम संचालन हुने पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ सम्पूर्ण मानवजातिले मनले चाहेको पुरा होस, कसैलाई संकट नपरोस संकटबाट मोचन गराउने लक्षका साथ श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ – २०८२ आयोजना गरिएको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्ती बताएका छन् ।
श्रावण १ गते पन्चकन्याले पशुपतिनाथ मन्दिरका मूल भट्टबाट पशुपतिको दिप लिएर सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ समारोहमा राखिएको पानसमा दिप प्रज्वलन गरि महायज्ञको बिधिबत उद्घाटन गरेका थिए ।
महायज्ञमा लोकप्रिय कथाबाचकहरुले कथाबाचन गर्नेछन शुरुमा सागर आचार्य, आदिया योगी, शितल कृष्ण महाराज, गौतम स्वामीले कथाबाचन गर्नेछन महायज्ञमा पण्डित दिनबन्धु पोखरेल, अमृत शरण देवाचार्य, देवी प्रतिभा जी, राधिका दासी, अनुराधा पाण्डेय, चन्द्रकला सखी आदीले कथा बाचन गर्नेछन ।
महायज्ञमा तीज महामहोत्सब समेत आयोजना गरिएको र तीजको ब्रत, पुजा एबम नाचगान लगायतका गतिबिधि संचालन गरेर महिलाहरुलाई धार्मिक र आध्यात्मिक चेतना जगाउने संगै मनोरंजन समेत दिलाउने लक्ष राखिएको छ । सोहि अबसरमा बिभिन्न क्षेत्रमा योगदान गरेर प्रतिष्ठा कमाएका १ सय ८ जना महिलाहरुलाई सम्मान समेत गरिने छ ।
ललितपुरको गोदावरी नगरपालिका –१४, बोडेगाउँमा मामाघर अनाथलय आश्रम एबम भक्तपुरको चाँगुनारायण-९ ताथलीमा ज्येष्ठ नागरिक आश्रमलाई थप ब्यबस्थित र सुबिधा सम्पन्न बनाउन संकट मोचन बिराट ज्ञान महायज्ञ संचालन गर्न लागिएको हो ।

मामाघर अनाथलय आश्रममा अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा प्रदान गरिंदै आएको छ । छोरीको घर र ज्येष्ठ नागरिक आश्रम निर्माणको लागि भक्तपुरमा ३ रोपनी भन्दा बढी जग्गा खरिद गरिएको र हाल ८६ जना बालबालिकाहरुको लागि बस्ने खाने एबम पढ्ने सहितको सबै सुबिधा प्रदान गरिएको । भक्तपुरमा हाल संचालित जेष्ठ नागरिक आश्रममा बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र सुरक्षा प्रदान गर्दै आइरहेको मानव सेवा फाउन्डेसनले जनाएको छ ।

मानव सेवा फाउन्डेसनले पशुपति क्षेत्रमा पशुपति कोटीहोम, पोखरामा गण्डकी कोटीहोम तथा देशका विभिन्न क्षेत्रमा महायज्ञ संचालन गरिसकेको छ भने आगामी दिनका देशका सातै प्रदेशमा कोटीहोम महायज्ञ गर्ने लक्ष रहेको बालयोगेश्वर बिजयकृष्ण मुर्ती बताएका छन् ।









