गाजामा इजरायली बम आक्रमणमा युरोपेली मिसाइल निर्माता कम्पनी एमबीडीएका पार्टपुर्जा प्रयोग भएको खुलासा बेलायती समाचार संस्था The Guardian ले गरेको छ।

युरोपकै सबैभन्दा ठूलो मिसाइल उत्पादक एमबीडीए (MBDA) ले इजरायललाई आपूर्ति गरेका बमका पाटपुर्जाले गाजामा आक्रमण गर्दा सयौं बालबालिका मारिएको Guardian, Disclose र Follow the Money को संयुक्त अनुसन्धानबाट खुलेको हो। इजरायली सेनाले प्रयोग गरेका GBU-39 नामक बममा प्रयोग हुने ‘पखेटा’ (wing kits) अमेरिकी राज्य अलाबामास्थित एमबीडीएको कारखानामा उत्पादन हुने गर्छन्। ती पखेटा बम प्रक्षेपणपछि खुल्छन्, जसले बमलाई लक्षित स्थानमा उच्च सटीकताका साथ पुर्याउँछ।
एमबीडीएले बोइङ कम्पनीसँग सम्झौता गरी यस्ता पखेटा बनाउने गरेको पुष्टिसमेत भएको छ। कम्पनीले आफूले सञ्चालन गर्ने सबै मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हतियार कानूनको पालना गर्ने दाबी गरेको छ। तर, मानव अधिकारकर्मीहरूले भने यस्तो व्यवसायलाई युद्धबाट नाफा कमाउने माध्यमको रूपमा आलोचना गर्दै आएका छन्।
बम आक्रमणमा विद्यालय र बालबालिका लक्षित
Guardian को रिपोर्टअनुसार २४ वटा आक्रमणहरूमा GBU-39 बम प्रयोग भएको पुष्टि भइसकेको छ, जहाँ सयौं सर्वसाधारण मारिएका छन्। तीमध्ये धेरै आक्रमणहरू राति गरिएका थिए, र अधिकांशमा विस्थापितहरूले आश्रय लिएका विद्यालय, टेन्ट, र शिविरहरू लक्षित गरिएको थियो। केही घटनाहरूमा संयुक्त राष्ट्रसंघ र Amnesty International ले युद्ध अपराधको आशंकामा अनुसन्धान गरिरहेका छन्।
उदाहरणस्वरूप, २०२४ मे २६ मा बिहान २ बजे गाजाको अल-जर्जावी विद्यालयमा भएको बम आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो, जसमध्ये धेरैजसो बालबालिका थिए। प्रत्यक्षदर्शीहरूले आगलागी र भग्नावशेषमा बालबालिकाको चिच्याहट र त्रासको वर्णन गरेका छन्।
५ वर्षीया हनिन अल-वाडी गम्भीर घाइते भएर बाँचिन् तर उनका आमा-बाबु र बहिनीको मृत्यु भयो। उनका काका भन्छन्, “बच्चीले चिच्याउँदै भनेकी थिई, शवमाथि पाइला राख्न डर लाग्छ।”
अन्तर्राष्ट्रिय कानूनको उल्लंघन, युद्ध अपराधको आरोप
अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार विद्यालयजस्ता नागरिक संरचनालाई लक्षित गर्न पाइँदैन। एम्नेस्टी इन्टरनेशनलकी वरिष्ठ अनुसन्धानकर्ता डोनाटेला रोभेरा भन्छिन्, “सैन्य लक्ष्य भएपनि जहाँ नागरिकहरू छन्, त्यहाँ प्रहार गर्न पाइँदैन। प्रभावकारी चेतावनी दिनु कानुनी बाध्यता हो।” तर गाजाका धेरै विद्यालयहरूमा चेतावनी बिना आक्रमण भएको पाइयो।
इजरायली सेनाले भने ती विद्यालयहरू हमास र इस्लामिक जिहादले ‘गुप्तचर केन्द्र’ को रूपमा प्रयोग गरेको दाबी गरेको छ। तर एम्नेस्टीका अनुसार यस्तो भीडभाडयुक्त क्षेत्रमा आक्रमण गर्नु नै अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन हो।

जीबीयू–३९ बम : उच्च सटीकता, व्यापक विनाश
GBU-39 बमहरू सानो तौल (२५० पाउन्डभन्दा कम) का भएपनि अत्यन्त विनाशकारी हुन्छन्। बन्द स्थानमा विस्फोट हुँदा आगोको ठूलो गोलो (fireball) बनाउँछ। नोभेम्बर २०२३ देखि मे २०२४ सम्म भएका प्रमाणित २४ घटनामा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसमध्ये कम्तीमा १०० बालबालिका थिए।
सन् २०२४ मे २६ मा राफाको कुवेती पीस क्याम्प–१ मा भएको आक्रमण सबैभन्दा विनाशकारी मानिन्छ। त्यसमा ४५ जनाको मृत्यु र २४९ जना घाइते भएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको थियो। एम्नेस्टीले उक्त घटनालाई युद्ध अपराधको रूपमा अनुसन्धान गर्न आग्रह गरेको छ।
एमबीडीएको नाफा र नैतिक प्रश्नहरू
MBDA UK ले सन् २०२३ मा आफ्ना सेयरधनीहरू — BAE Systems (UK), Airbus (France), र Leonardo (Italy) — लाई £350 मिलियन लाभांश वितरण गरेको थियो। कम्पनीले कुल £4.2 बिलियन राजस्व आर्जन गरेको थियो।
Amnesty र Arms Trade Campaign का अनुसन्धानकर्ताहरूका अनुसार, MBDA ले हतियार बेचेर ठूलो मुनाफा कमाइरहेको छ। उनीहरू भन्छन्, “यदि कम्पनीले नैतिक रूपले गाजाको हत्याकाण्डमा संलग्न हुन नचाहेको हो भने, यसले अमेरिकी शाखा बेच्नुपर्छ।”
बेलायत र पश्चिमी सरकारहरूको मौनता
बेलायत लगायतका पश्चिमी देशहरूले इजरायलप्रति नरम दृष्टिकोण राखेको देखिएको छ। बेलायतका विदेश मन्त्री डेभिड लम्मीले केही कम्पनीको निर्यात अनुमति निलम्बन गरेपनि BAE Systems जस्ता ठूला कम्पनीहरूलाई छुट दिएका छन्। यूरोपेली नेताहरू घरेलु हतियार उद्योगको नाफा घट्ने डरले स्पष्ट नीति लिन नसकेको रिपोर्टमा उल्लेख छ।
संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ता फ्रान्सेस्का अल्बानीजले गाजामा इजरायलले गरिरहेको कार्यलाई ‘नरसंहार’ संज्ञा दिँदै भनेकी छन्, “निजी क्षेत्रलाई जवाफदेही नबनाई युद्ध अन्त्य हुँदैन।”








