प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै देशभरका सबै विश्वविद्यालयहरूले आफ्नो बजेट र कार्यक्रम पारित गरिसकेको जानकारी दिएका छन्।

पछिल्लो हप्ता विश्वविद्यालयहरूको सिनेट बैठकहरूमा आफूले अधिकांश समय खर्च गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसपटक विश्वविद्यालयहरूलाई थितिमा ल्याउने प्रयास सफल भएको बताए।
“विगतमा पहिले खर्च गर्ने, आर्थिक वर्ष सकिन लाग्दा मात्र खर्च अनुमोदन गर्ने विकृति थियो,” प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “तर, यसपटक सबै विश्वविद्यालयहरूले आर्थिक वर्ष सुरु हुनुअघि नै बजेट पारित गराएका छन्।”
उनले थप लेखेका छन्, “यसका लागि धेरै समय दिनु परे पनि सन्तुष्टि मिलेको छ। अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम समयमै सम्पन्न गर्नेछन् भन्ने विश्वास बढेको छ।”









