२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

“अहमदाबाद विमान दुर्घटना : पाइलटले नै रोकेका थिए फ्युल सप्लाइ ?”

भारतको अहमदाबादमा गत जुन १२ मा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमान सम्बन्धी एक नयाँ दाबी सार्वजनिक भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले प्रमुख पाइलट सुमित सभरवालले इन्जिनमा इन्धन आपूर्ति (फ्युल सप्लाइ) बन्द गरेको उल्लेख गरेको छ। पत्रिकाले विमानका दुई पाइलटबीच भएको अन्तिम संवादको ककपिट भ्वाइस रेकर्डिङका आधारमा यो दाबी गरेको हो।

भ्वाइस रेकर्डिङमा सह–पाइलट क्लाइभ कुन्दर पाइलट सभरवाललाई सोधिरहेका सुनिन्छन् — “तपाईंले फ्युल स्विचलाई ‘कट अफ’ अवस्थामा किन राख्नुभयो?” सोध्ने क्रममा सह–पाइलटको स्वरमा स्पष्ट रूपमा हैरानी र त्रास झल्किएको बताइएको छ। तर, पाइलट सभरवाल भने शान्त सुनिन्छन्।

सभरवाल एयर इन्डियाका वरिष्ठ पाइलट हुन् र उनीसँग १५,६३८ घण्टाको उडान अनुभव रहेको जनाइएको छ। सह–पाइलट कुन्दरसँग ३,४०३ घण्टाको उडान अनुभव छ।

वाल स्ट्रिट जर्नलले यो विवरण अमेरिका स्थित प्रारम्भिक अनुसन्धानमा संलग्न स्रोतहरूको भनाइ उद्धृत गर्दै प्रकाशित गरेको हो। हालसम्म भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (AAIB), नागरिक उड्डयन महानिर्देशनालय (DGCA), नागरिक उड्डयन मन्त्रालय, बोइङ वा एयर इन्डियाले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।

पाँच दिनअघि भारतले पाइलटहरूको संवादसमेत सार्वजनिक गरिसकेको छ। यसअघि, जुलाई १२ मा विमान दुर्घटना अनुसन्धान ब्युरो (AAIB)ले प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा फ्युल स्विच अचानक ‘रन’ स्थितिबाट ‘कट अफ’ स्थितिमा गएको जनाइएको छ, जसका कारण दुवै इन्जिन बन्द भएका थिए।

यद्यपि, प्रतिवेदनमा फ्युल स्विच कसरी बन्द गरियो भन्ने विषयमा स्पष्ट विवरण दिइएको छैन। प्रतिवेदनअनुसार, ककपिट भ्वाइस रेकर्डरमा एक पाइलटले अर्काेलाई इन्धन किन बन्द गरियो भनेर सोधेको र दोस्रो पाइलटले आफूले त्यस्तो नगरेको जवाफ दिएको उल्लेख गरिएको छ।

इन्धन स्विचमा कुनै समस्या छैन : एयर इन्डिया

एयर इन्डियाले आफ्ना सबै बोइङ–७८७ विमानहरूको इन्धन नियन्त्रण स्विच (Fuel Control Switch) मा कुनै त्रुटि नरहेको स्पष्ट पारेको छ। कम्पनीले बुधबार पाइलटहरूलाई पठाएको सन्देशमा अनुसन्धानको क्रममा स्विचमा कुनै प्राविधिक समस्या फेला नपरेको उल्लेख गरिएको छ।

यसबाहेक, सबै बोइङ–७८७ विमानहरूमा थ्रोटल कन्ट्रोल मोड्युल (TCM) परिवर्तन गरिएको पनि जानकारी दिइएको छ। टीसीएम इन्धन नियन्त्रण प्रणालीको एक अत्यन्त महत्वपूर्ण भाग हो।

जुलाई १४ मा, नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले सबै एयरलाइन्सहरूलाई आफ्नो बोइङ–७३७ र ७८७ विमानका इन्धन स्विचहरूको परीक्षण जुलाई २१ भित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको थियो। एयर इन्डियासँग हाल ३३ वटा बोइङ–७८७ ड्रीमलाइनर विमानहरू छन्।

यता, इन्डिगोसँग सात वटा बी–७३७ म्याक्स ८ र एक वटा बी–७८७–९ विमान छन्। तर यी सबै विमानहरू भाडामा लिइएको हुनाले भारतमा दर्ता भएका छैनन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।