गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको आरोपमा अमेरिकाले सुडानमाथि प्रतिबन्ध लगाएको छ। शुक्रबार अमेरिकी सरकारले फेडरल रजिस्टरमा प्रकाशित सूचनामा सुडानको सरकारलाई निर्यात, हातहतियार बिक्री र आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षसम्म कायम रहने उल्लेख गरेको छ।

न्यूयोर्क टाइम्सले गत जनवरीमा प्रकाशित समाचारमा सुडानको सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको दाबी गरेको थियो। नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँसजस्तो भएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याएर मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ।
यद्यपि, सुडानको सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ। अमेरिकी प्रतिबन्धअन्तर्गत अत्यावश्यक मानवीय सहायता, खाद्यान्न र कृषिजन्य वस्तुबाहेक अन्य सहायता बन्द गरिने जनाइएको छ। तर, अमेरिकी विज्ञप्तिमा ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितका लागि आवश्यक’ भएकाले केही सुविधामा आंशिक छुट प्रदान गरिने उल्लेख छ।
सन् २०२३ को अप्रिलमा सुडानको सेना र आरएसएफबीचको शक्ति संघर्ष गृहयुद्धमा परिणत भएको थियो। यो युद्ध गरिब मुलुक सुडानका लागि अभिशाप बनेको छ। यस द्वन्द्वका कारण दशौँ हजार मानिसको ज्यान गएको छ भने करिब एक करोड ३० लाख व्यक्ति विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघले सुडानको यो गृहयुद्धलाई विश्वकै सबैभन्दा खराब मानवीय संकटमध्ये एकको रूपमा वर्णन गरेको छ।









