२७ भदौ, काठमाडौं । अन्तरिम सरकार गठन प्रक्रियासम्बन्धी प्रधानमन्त्री नियुक्तिको विषयमा आज बिहान ९ बजेका लागि तय गरिएको शितलनिवासको छलफल कार्यक्रम केही घण्टाका लागि सारिएको छ।

राष्ट्रपति निवास स्रोतका अनुसार वार्तामा संलग्न राजनीतिक दल र आन्दोलनरत पक्षका प्रतिनिधिहरूले आफ्ना–आफ्ना पक्षमा थप आन्तरिक परामर्श आवश्यक परेको कारण बैठक सारिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न दलका नेतासँग गहन छलफल गरेका थिए। अधिकांश दलहरूले संसद् विघटन नगरी नै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रियामा जानुपर्ने धारणा राखेका छन् भने आन्दोलनरत जेन–जी समूह संसद् विघटनको पक्षमा रहेको छ।
संविधानको प्रावधानअनुसार संसद्को सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था रहेकाले, अन्तरिम सरकार प्रमुखको नाममा विवाद कायमै छ। यद्यपि दल र आन्दोलनरत पक्ष दुवै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन प्रारम्भिक सहमतिमा पुगेका छन्। तर संसद्बाट अनुमोदन गर्ने विधि र प्रक्रियामा अझै अन्तिम सहमति जुट्न सकेको छैन।
यो प्रक्रियाले मुलुकको आगामी राजनीतिक स्थिरता र संविधानको कार्यान्वयनमा महत्वपूर्ण असर गर्ने भएकाले सबै पक्षको ध्यान शितलनिवासमा केन्द्रित भएको छ।









