पोखरा, श्रावण १९- एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कास्की जिल्लाको हेमजास्थित मानवसेवा आश्रममा सौर्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।


उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द घिमिरे, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, आश्रमका पदाधिकारीहरू, स्वयंसेवकहरू तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा बैंकले आश्रमलाई १,००० लिटर क्षमताको तातोपानी सौर्य प्रणाली तथा आधुनिक इलेक्ट्रोनिक सोलार सिस्टम हस्तान्तरण गरेको हो। यस सहयोगले आश्रममा बसोबास गरिरहेका सेवा प्राप्तकर्ताहरूको दैनिक जीवन सहज र सुविधाजनक हुने विश्वास गरिएको छ।

बोल्दै सीईओ घिमिरेले एनएमबि बैंकले सामाजिक उत्तरदायित्वको भावना अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।

मन्त्री बिन्दुकुमार थापाले बैंकको सामाजिक योगदानको प्रशंसा गर्दै यस्तो पहलले समाजमा सकारात्मक सन्देश जाने बताए। साथै, उनले सामाजिक सेवामा सक्रिय सम्पूर्ण संस्थाहरूलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको आयोजना मानवसेवा आश्रम पोखरा शाखाले गरेको थियो।









