लागुऔषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा थाइल्याण्डबाट २०७ किलो गाँजा नेपाल भित्रिएको पाइएको छ। ती सबै गाँजा नेपाल हुँदै भारत तर्फ तस्करी गरिएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार पछिल्लो समय नेपाललाई ट्रान्जिट बिन्दु बनाएर थाइल्याण्डबाट गाँजाको तस्करी हुने क्रम बढ्दो छ। थाइल्याण्डको गाँजा उच्च गुणस्तरको हुने भएकाले यसको माग उच्च रहेको र त्यसैकारण तस्करी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
त्यसैगरी, उक्त आर्थिक वर्षमा ब्यूरोले अन्य लागुऔषध समेत ठूलो परिमाणमा बरामद गरेको छ। कोकिन १८ किलो ९१९ ग्राम, हेरोइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो र एम्फेटामाइन २७२ ग्राम बरामद भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा ब्यूरोले लागुऔषध सम्बन्धी १,१३२ वटा मुद्दा दर्ता गरेको छ भने सोही अवधिमा १,६७५ जना पक्राउ परेका छन्।









