बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा निकालिएको र्यालीका क्रममा हिंसा भड्किएको छ।

हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थकहरूले प्रहरीसँग झडप गरेका थिए।
प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा र इँटा प्रयोग गरेर प्रहरी, सेना तथा अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए। प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै, एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफी कारबाहीस्वरूप गोली प्रहार गरेका थिए। भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो।
हिंसामा मारिएका चार जनामध्ये तीनको पहिचान खुलेको छ। उनीहरू हुन् – दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), र सोहेल मोल्ला (४१ वर्ष)। चिकित्सकका अनुसार, उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो।
हिंसाको बाबजुद पनि एनसीपीले गोपालगञ्जमा र्याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए।
एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले र्यालीको अध्यक्षता गर्दै भने, “यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं।”
एनसीपी नेता सरजिस आलमले फेसबुकमा लेखेका छन्, “गोपालगञ्जमा हत्याको नेतृत्व गर्ने हसिनाका गुन्डाहरूले हामीमाथि हमला गरे। प्रहरी तमासे बनेर उभिएको थियो र पछि हट्यो।”
प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सुरक्षाकर्मी तैनाथ गरिएको छ।

एनसीपी बंगलादेशको हालै उदाएको नयाँ राजनीतिक दल हो, जुन २०२५ फेब्रुअरी २८ मा गठन भएको हो। यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वमा गठन भएको पहिलो राजनीतिक दल मानिन्छ। यस दललाई अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन प्राप्त छ।
युनुसले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “युवाहरूलाई उनीहरूको क्रान्तिकारी आन्दोलनको एक वर्ष मनाउन दिइएन, जुन उनीहरूको मौलिक अधिकारको लज्जास्पद उल्लंघन हो।”
उनले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनमाथि लगाएका छन्। युनुसले भने, “अपराधीहरूको छिट्टै पहिचान हुनुपर्छ र तिनीहरूलाई पूर्ण रूपमा जवाफदेही बनाइनुपर्छ।”
उनले थपे, “यस्तो हिंसाका लागि बंगलादेशको कुनै पनि नागरिकमाथि कुनै ठाउँ छैन। यस्ता धम्कीका बाबजुद पनि र्याली जारी राख्ने विद्यार्थीहरूको साहसको हामी सम्मान गर्छौं।”








