घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। केही दिनअघि मन्त्री गुप्ताले घुस लिएको भनिएको अडियो सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो।
विपक्षी दलहरूले राजीनामा मात्र नभई कानुनी कारबाहीको समेत माग गरेका थिए। सार्वजनिक अडियो रेकर्डअनुसार, गत पुस/माघ महिनामा काम गरिदिने भन्दै मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए।
अडियो रेकर्डमा मुख्यतः कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्ति सम्बन्धी छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत समेटिएको छ।
मन्त्री गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभए अन्तर मन्त्रालय सरुवा गरिदिने धम्की दिने गरेको आरोप पनि लागेको छ।









