काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट ल्याउन नसकेको भन्दै क्षमायाचना गरेकी छिन्।

आइतबार बसेको काठमाडौं महानगरपालिकाको १७औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै उनले महानगरवासी र सरोकारवालासमक्ष क्षमा मागेकी हुन्।
उपप्रमुख डंगोलले भनिन्, “समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत र नगरसभाका सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं।”
उनले विगत केही दिनमा महानगरभित्र तितामिठा अनुभव भए पनि ती मन्थनको प्रक्रियाबाट समाधानतर्फ अग्रसर भएको उल्लेख गरिन्। “विगतका दिनमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए। आरोप–प्रत्यारोप पनि भए। तर सबै कुरा मन्थन हुँदै समाधानतर्फ गइरहेको छ,” उनले भनिन्, “आज हामी फेरि एकढिक्का भएर यो गरिमामय सभामा उपस्थित भएका छौं।”
संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। तर काठमाडौं महानगरपालिकाको आन्तरिक विवादका कारण यो प्रक्रिया ढिलो भएको हो।









