मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको भन्दै कास्की जिल्ला प्रशासन कार्यालयले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ। यो व्यवस्था साउन २५, २०८२ (बुधबार) देखि १५ दिनसम्म लागू हुनेछ। जिल्ला विपद् व्यवस्थापन समितिको साउन २३ गते बसेको बैठकले सम्भावित क्षतिबाट यात्रु र सवारी साधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

जारी सूचना अनुसार, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक र निजी सवारी साधनले तोकिएको समयमा मात्र ग्रामीण सडकमा यात्रा गर्न पाउनेछन्। बैठकले निम्न समय तालिका निर्धारण गरेको छ:
- विरेठाँटीबाट घान्द्रुक, उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनले साँझ ५ बजेभित्र प्रस्थान गरिसक्नुपर्नेछ।
- घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ फर्कने सवारी साधनले बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउनेछन्।
- काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनले साँझ ४:३० बजेभित्र प्रस्थान गरिसक्नुपर्नेछ।
- ताङ्तिङबाट काहुँखोला फर्कने सवारी साधनले बिहान ५ बजेपछि मात्र चल्न पाउनेछन्।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा सबै सवारी चालक र यात्रुलाई तोकिएको समय तालिका कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ। यो व्यवस्थाले बाढी र पहिरोको जोखिम न्यूनीकरण गरी जनधनको सुरक्षामा योगदान पुग्ने विश्वास गरिएको छ।









