इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिकाको आक्रमणले इरानमा कुनै ठूलो क्षति नगरेको दाबी गर्दै इरानले आत्मसमर्पण कहिल्यै नगर्ने स्पष्ट पारेका छन्। मंगलबार इजरायलसँग युद्धविराम भएको केही दिनपछि सार्वजनिक भएका खामेनीले, आक्रमणबाट इरानको आणविक कार्यक्रम प्रभावित नभएको बताएका छन्।

उनले भने, “अमेरिकाले आक्रमण गरेर केही पनि हासिल गर्न सकेन। हाम्रो आणविक कार्यक्रम निरन्तर अघि बढिरहेको छ। बरु हामीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि कडा जवाफ दिएका छौं।”
उनले विशेष रूपमा कतारस्थित अमेरिकी हवाई अड्डामाथि इरानले गरेको आक्रमणलाई उल्लेख गर्दै भने, “हामीले मुख्य अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर अमेरिकालाई ठोस सन्देश दिएका छौं।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक स्थलहरूमा आक्रमण गरेर ती संरचनाहरूलाई पूर्ण रूपमा ध्वस्त गरिएको दाबी गरेका थिए। तर खामेनीले ट्रम्पको दाबी असत्य भएको जिकिर गर्दै भने, “उनीहरूले आफ्नो उद्देश्य प्राप्त गर्न सकेनन्। आक्रमणको प्रभावलाई अनावश्यक रूपमा बढाइचढाइ गरिएको छ।”
बिहीबार टेलिभिजनमार्फत सार्वजनिक भएका खामेनीले अमेरिकाले पुनः आक्रमण गरेमा, इरानले मध्यपूर्वका सबै प्रमुख अमेरिकी केन्द्रहरूलाई लक्षित गरेर कडा कारबाही गर्ने चेतावनी पनि दिए। इरानी अधिकारीहरूले उनी कुन स्थानबाट सम्बोधन गरिरहेका थिए भन्ने खुलाएका छैनन्, यद्यपि एक वरिष्ठ अधिकारीले खामेनी सुरक्षित स्थानमा रहेको पुष्टि गरेका छन्।









