इरानले इजरायलतर्फ लगातार क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ। मृत्यु हुनेमा दुई जना ४० वर्ष हाराहारीका पुरुष र महिला, तथा एक जना २० वर्षका पुरुष रहेका छन्। यस हमलामा केही नागरिक घाइते भएका छन्।

इजरायली सञ्चारमाध्यमका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको दाबी गरेपछि यो हमला भएको हो। ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत इरान र इजरायलबीच पूर्ण युद्धविराम लगभग ६ घण्टामा सुरु हुने बताएका थिए। तर, इजरायलले हालसम्म युद्धविराम स्वीकृत गरेको छैन।
इरानले भने आफ्नो सरकारी टेलिभिजनमार्फत युद्धविराम स्वीकारेको जनाएको छ। यद्यपि, इजरायलको औपचारिक पुष्टि नभएको अवस्थामा इजरायलको उत्तरी क्षेत्रमा फेरि साइरन बजिरहेको छ।
इजरायली सञ्चार संस्था आईएलटीभीले आपतकालीन सेवा निकायका प्रमुख एली बिनलाई उद्धृत गर्दै बेरशेबामा इरानी क्षेप्यास्त्र आक्रमणले तीन भवनमा गम्भीर क्षति पुगेको र ती भवनमा मानिसहरू फसेको आशंका व्यक्त गरेको छ। तीमध्ये एक भवनको चौथो तलामा रहेको सुरक्षित कोठाबाट कम्तीमा तीन जनालाई सकुशल उद्धार गरिएको छ। उक्त भवनमा क्षेप्यास्त्र सिधै प्रहार भएको बताइएको छ।
उद्धार प्रयास जारी रहँदा इरानबाट थप क्षेप्यास्त्र प्रहारको चेतावनी आइरहेको छ।









