रोहित बस्नेत
पोखरा : बर्षौ देखि संरक्षण र व्यवस्थापनको अभावमा ओझेलमा परेको डिहीकोपाटन पार्कलाई पछिल्लो समय संरक्षण तथा व्यवस्थापन गर्ने अभियान सुरु गरिएको छ। डिहीकोपाटनका स्थानीय शिवराज कोइरालाको अगुवाइ तथा समाजसेवी गिरिराज अधिकारीको सक्रिय पहलमा पार्कको संरक्षण, सरसफाइ, सौन्दर्यीकरण र पूर्वाधार विकासका काम अघि बढाइएको हो।

डिहीकोपाटन पार्क व्यवस्थापन समितिका अनुसार पोखरा महानगरपालिका वडा नं. ६ को सहयोगमा करिब ६ लाख रुपैयाँ बराबरको बजेटबाट पार्क परिसरमा ढुङ्गा छाप्ने कार्य सम्पन्न भइसकेको छ। यससँगै पार्कलाई व्यवस्थित, आकर्षक र सबै उमेर समूहका नागरिकका लागि उपयोगी सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न संरचनागत तथा सौन्दर्यीकरणका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।
यसै अभियानलाई थप प्रभावकारी बनाउन लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्कका लागि फलामे कुर्सी सहयोग गरेको छ । बैंकका लेकसाईड शाखा प्रमुख प्रकाशचन्द्र पहारीले पार्क व्यवस्थापन समितिलाई फलामे कुर्सी हस्तान्तरण गर्दै सार्वजनिक पार्कको संरक्षण, सौन्दर्य अभिवृद्धि तथा सर्वसाधारणलाई आरामदायी वातावरण उपलब्ध गराउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउनुभयो। आगामी दिनमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभयो।
पार्क व्यवस्थापन समितिका संयोजक शिवराज कोइरालाले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट पार्कमा आउने सर्वसाधारण, ज्येष्ठ नागरिक तथा बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै, सार्वजनिक स्थलको संरक्षण र विकासमा निजी क्षेत्रको सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने समितिको भनाइ थियो। डिहीकोपाटन पार्कको सौन्दर्य र सेवासुविधा विस्तारमा लुम्बिनी विकास बैंकको यो सहयोगले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य बासु बराल, तालबाराही माध्यमिक विद्यालयका पूर्व अध्यक्ष गोविन्दराज पहारी, डिहीकोपाटन पार्क व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा लुम्बिनी विकास बैंकका विभिन्न शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित शाखा प्रमुखहरूमा पोखरा न्यूरोड शाखाका महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखाका गोपीराज अधिकारी, रामबजार शाखाका विश्व प्रकाश वाग्ले, छोरेपाटन शाखाका राजन कुँवर तथा फूलबारी शाखाका रामचन्द्र पौडेल सहभागी हुनुहुन्थ्यो।
यो सँगै स्थानीयवासी तथा विभिन्न संघ–संस्थाको सहकार्यबाट अघि बढिरहेको संरक्षण अभियानले डिहीकोपाटन पार्कलाई पुनः जीवन्त सार्वजनिक उद्यानका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।









