यसवर्षको मनसुन बाहिरिन सुरु भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको हो।
तर, लुम्बिनीको मध्य र पूर्वी भूभाग, गण्डकीको पूर्वी भूभाग र बाँकी प्रदेशमा मनसुनी वायु अझै बाँकी छ।
नेपालमा मनसुन सामान्यतया असोज १६ गते बाहिरिने गरेको थियो। यस वर्ष केही ढिला भई मनसुन बाहिरिन थालेको विभागले जनाएको छ।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले बाँकी भू–भागमा केही दिनमा मनसुन बाहिरिन सक्ने सम्भावना छ।
नेपालमा गत जेठ १५ गते मनसुन भित्रिएको थियो। सामान्यतया मनसुन जेठको २८ गते (जुन १३) भित्रिने मिति भए पनि यस वर्ष दुई साताअघि नै भित्रिएको थियो।