सिरहाबाट हलेसी मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुहरू सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिक आज बिहान करिब ९ बजे दुर्घटना भएको हो।
मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष तथा प्रवक्ता कमल गिरीले जानकारी दिएका छन्।
घाइतेमध्ये छ जनालाई अवस्था गम्भीर रहेकाले काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। बाँकी आठ जनाको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको छ, र उनीहरूको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
दुर्घटनाग्रस्त माइक्रोबसमा कुल १६ जना यात्रु सवार रहेको खुलेको छ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनास्थल वरिपरि बुट्यान र झाडी रहेकाले ठूलो मानवीय क्षति हुन नपाएको प्रवक्ता गिरीले जनाएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका यात्रीहरू विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला सकेर फर्किंदै गरेका थिए।
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको तीर्थस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गर्दछ। दर्शनार्थीहरू निजी वा भाडाका सवारीसाधन रिजर्भ गरेर मेला भर्न आउने गर्छन्।









