‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङ गुण्डागर्दीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। उनलाई बुधबार राति काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार, गुरुङले सो दोहोरी साँझमा झगडा गरेपछि पक्राउ गरिएको हो। प्रहरीका अनुसार, गुरुङ विगतमा पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। त्यतिबेला प्रहरीले उनलाई हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो। प्रहरीले गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन उक्त उपाय अपनाएको जनाएको थियो। पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो।
त्यसपछि पनि उनी कुटपिट र असुलीमा संलग्न हुँदै फेरि–फेरि पक्राउ पर्दै छुट्दै आएका थिए।
कुमार घैंटे समूहमा सक्रिय
प्रहरीको रेकर्डअनुसार, युवराज गुरुङ कुनै समय कुख्यात गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय सदस्य थिए। २०७२ साल भदौ ३ गते घैंटे प्रहरी मुठभेडमा मारिएपछि गुरुङ बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्न थालेका थिए।
काठमाडौं प्रहरीका तत्कालीन प्रमुख दानबहादुर कार्कीका अनुसार, २०७२ साल पुस २५ गते गुरुङलाई नुवाकोटबाट २८ बोर रिभल्वर र एकथान गोलीसहित पक्राउ गरिएको थियो। त्यतिबेला उनको साथबाट बुलेट प्रुफ ज्याकेट समेत बरामद गरिएको थियो।
त्यस्तै, २०६७ साल कात्तिक ७ गते गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामामाथि धारिलो हतियार प्रहार गरेको घटनामा पनि गुरुङ संलग्न रहेको प्रहरीले जनाएको छ।

२०७६ सालमा उनीविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा बैंकिङ कसूरसम्बन्धी मुद्दा चलाइएको थियो भने २०७७ कात्तिक २६ गते ताज भनिने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए।








