सिन्धुलीको गोलन्जर गाउँपालिका–६ छेत्पामा बसोबास गर्ने एक परिवार तीन दिनदेखि बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ।

स्थानीयका अनुसार उक्त परिवारको घर गाउँका अन्य घरभन्दा एकान्त र टाढाको स्थानमा छ। उनीहरूको नजिकै मात्र ‘एक्ले हायू’ भनेर चिनिने अर्को छिमेकीको घर रहेको छ। उर्मिला परिवारले आफ्नी भैँसी सोही नजिकै बाँध्ने गरेका थिए।
“शनिबारदेखि बेपत्ता हायू परिवारले भैँसीलाई घाँसपात खुवाएका रहेनछन्, व्यस्त भएर भ्याएनन् होला भनेर एक्ले हायूको परिवारले नै ती भैँसीलाई घाँसपात खुवाइरहेका रहेछन्,” स्थानीय सुमन कोइरालाले अनलाइनखबरसँग भने।
उनका अनुसार तीन दिनसम्म भैँसी हेर्न कोही नआएपछि आशंका लागेर हेर्न जाँदा घरमा कोही पनि नभएको र भित्रका सामानहरू अस्तव्यस्त अवस्थामा फेला परेका थिए।
“तीन दिनसम्म पनि कोही नआएपछि के भयो भनेर हेर्न जाँदा घरमा कोही थिएनन्, र भित्रका सबै सामानहरू भद्रगोल अवस्थामा देखिएको थियो,” कोइरालाले भने।
उनले थपे, “हायूको घर अरूको घरभन्दा निकै टाढा पर्छ, त्यहाँ पुग्नै १५–२० मिनेट लाग्छ।”
सोही आधारमा स्थानीयले आज बिहान करिब ९ बजेतिर वडा अध्यक्ष रविन श्रेष्ठलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो।








