रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत अवस्थामा फेला परेका छन्।

बेपत्ता हुनेहरूमा विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने रहेका छन्। उनीहरू मामा–फुपुका छोराहरू (दाजुभाइ) हुन्।
प्रहरीका अनुसार उनीहरू आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका थिए भने सोमबार बिहान १० बजे मृत अवस्थामा फेला परे।
मृतकका दाजु विवेक मिश्रका अनुसार शवहरू काठमाडौं ल्याउने प्रयास भइरहेको छ। उनका अनुसार मनोज काठमाडौंमै बस्दै आएका थिए भने सुजन केही दिनअघि मात्र विराटनगरबाट काठमाडौं आएका थिए।
साथीभाइसँगै उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए। आइतबार स्नान गर्ने क्रममा एक जना चिप्लिएर पानीमा खसेपछि अर्का दाजुभाइले उद्धार प्रयास गर्दा दुवै जना बेपत्ता भएका थिए।
दाजु विवेक मिश्रले भने, “एक जना भाइ नुहाउने क्रममा चिप्लिएपछि अर्का भाइ उनको उद्धार गर्न गएका थिए, अनि यस्तो दुःखद घटना भयो।”









