चितवनका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्याबारे जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन आएका छन्। शाक्य आज बिहान भरतपुर आइपुगेका हुन्।

विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौतीसम्बन्धी सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ भएको भन्दै व्यापक आलोचना भएपछि शाक्य स्वयं चितवन आएका हुन्।
शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार, शाक्यले भरतपुरको समग्र अवस्थाबारे प्रारम्भिक जानकारी लिएपछि पूर्वी चितवनको राप्तीस्थित हर्दी सबस्टेशन पुग्ने कार्यक्रम छ।
हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफल परीक्षणसमेत सम्पन्न भएको छ। हर्दी सबस्टेशनका इन्चार्ज रोशन खनियाँका अनुसार, ट्रान्सफर्मर जडानपछि अब केही प्राविधिक परीक्षणको काम बाँकी छ, जुन सकिएपछि लाइन सञ्चालनमा ल्याइनेछ।
२४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनका अधिकांश क्षेत्रहरूमा यही सबस्टेशनबाट विद्युत आपूर्ति गरिनेछ। यसले भरतपुरबाट पूर्वी चितवन जाने लाइनमा परेको लोड घटाउने खनियाँले जानकारी दिए।
रत्ननगरको टाँडी र खैरहनी नगरपालिकाको चैनपुरमा रहेको सबस्टेशनलाई हर्दीबाट सप्लाई दिइएपछि, भरतपुरको चनौली सबस्टेशनबाट सिधै देवनगर र जगतपुर जोडेर पश्चिम चितवन तथा माडी क्षेत्रमा विद्युत आपूर्ति गर्ने योजना रहेको उनले बताए।
हाल देवनगरबाट टाँडी र पर्सातर्फ विद्युत आपूर्ति भइरहेको छ। तर पछिल्लो समय गर्मी बढेसँगै पूर्वी चितवनको टाँडी, खैरहनी, राप्ती र माडी तथा पश्चिम चितवनमा समेत विद्युत आपूर्ति अवरुद्ध हुने समस्या देखिएको छ।
टाँडी र माडीका विद्युत सबस्टेशनमा स्थानीयवासीहरू निरन्तर विरोधमा उत्रिरहेका छन्। शनिबार चनौली सबस्टेशनले विद्युत कटौतीसम्बन्धी सूचना जारी गरेपछि सामाजिक सञ्जालमा प्राधिकरणले ‘लोडसेडिङ तालिका’ ल्याएको भन्दै तीव्र आलोचना भइरहेको छ।

विद्युत प्राधिकरणले चितवनमा देखिएको आपूर्ति समस्या मंगलबारसम्म समाधान हुने विश्वास व्यक्त गरेको छ।








