२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

“प्रहरीको प्रारम्भिक निष्कर्ष : विवाहेत्तर सम्बन्ध र पैसाको विवादले विमलेशको हत्या”

जनकपुरस्थित एक होटलमा बसेका महोत्तरीका २८ वर्षीय विमलेश यादवको छुरा प्रहारपछि ज्यान गएको घटनाको प्रारम्भिक अनुसन्धानबाट विवाहेत्तर सम्बन्ध र आर्थिक विवाद मुख्य कारण रहेको पाइएको छ। प्रहरीले घटनामा संलग्नताकाे आशंकामा विमलेशकी प्रेमिकामाथि अनुसन्धान केन्द्रित गरेको छ।

महोत्तरी गाउँपालिका–१, पर्साका बासिन्दा शनी भनिने विमलेश यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शनिबार राति जनकपुरको एसपी एन्ड गेष्टहाउस होटलमा यादवमाथि छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। हत्या प्रकरणमा उनकै प्रेमिका संलग्न रहेको पनि प्रहरीको भनाइ छ।

शनिबार राति ९:५५ बजे यादव एक युवतीसँग होटलमा प्रवेश गरेको दृश्य सिसीटीभी फुटेजमा देखिन्छ। करिब पाँच घण्टापछि, आइतबार बिहान २:५७ बजे यादव नग्न तथा रगताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेका देखिन्छन्। त्यसको पाँच मिनेटपछि युवती तल झरेर दायाँ–बायाँ हेर्दै खसेका यादवको छेउबाट भाग्ने दृश्य पनि सिसीटीभीमा कैद भएको छ।

घटनापछि केही बेरमै प्रहरी टोली आएर गम्भीर घाइते यादवसँग बयान लिन्छ। सिसीटीभी फुटेजमा यादव आफैं एम्बुलेन्समा चढेको दृश्य देखिन्छ। उपचारका क्रममा आइतबार बिहान ७:४५ बजे प्रदेश अस्पताल जनकपुरमा यादवको मृत्यु भएको हो।

घटनामा संलग्न भएको आरोपमा धनुषा प्रहरीले महोत्तरीको बलवा नगरपालिका–की करिब २४ वर्षीया जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको छ। प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार घटनाको अनुसन्धान जारी छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए अनुसार सिसीटीभी फुटेजका आधारमा अनुसन्धान जुलीमै केन्द्रित गरिएको छ। “योजना अनुसार नै हत्या गरिएको हुनसक्छ,” प्रहरी स्रोतले बताएको छ।


विमलेश र जुलीबीच भेटघाट नगर्ने सहमति भएको थियो

विमलेश यादव दुई सन्तानका पिता हुन्। उनी र जुलीबीच तीन वर्ष अघिदेखि नै निकट सम्बन्ध रहेको खुलेको छ। दुवैको सम्बन्धबारे परिवारका सदस्य पनि जानकार थिए।

एक आफन्तका अनुसार, “दुई वर्षअघि उनीहरूबीच मोबाइलमा नियमित कुराकानी हुने गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी पर्‍यो। त्यसपछि दुबै पक्षले आफ्ना छोराछोरीको मोबाइल नम्बर परिवर्तन गर्ने र भविष्यमा कुनै पनि कुराकानी नगर्ने सहमति गरेका थिए।”

त्यसपछि विमलेश वैदेशिक रोजगारीका लागि विदेश गएका थिए। तर पनि जुलीसँगको सम्पर्क कायम नै रह्यो। ती आफन्तका अनुसार, विदेशमा काम गर्दा कमाएको रकममध्ये करिब २७ लाख रुपैयाँ विमलेशले जुलीलाई पठाएका थिए, जसको भौचरहरू सुरक्षित छन्।


पैसाको विवादमै चर्काचर्की

विमलेश दुई वर्षअघि कतार गएका थिए र ६ महिना अघि मात्रै नेपाल फर्किएका थिए। फर्किएपछि उनीहरूबीच भेटघाट तथा कुराकानी रोक्ने विषयमा सहमति भएको थियो। जुलीले नै सम्बन्ध टुंग्याउने इच्छा व्यक्त गरेकी थिइन्। तर त्यसबारे विवाद उत्पन्न भएको थियो।

“जुलीले छुट्टिन चाहेको बताएपछि विमलेशले आफूले खर्च गरेको रकम फिर्ता गर्न माग गरेका थिए। यही पैसाको विषयलाई लिएर उनीहरूबीच मनमुटाव भएको हो,” पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार, जुलीसँग गरिएको सोधपुछ, सिसीटीभी फुटेज, र घटनास्थलबाट प्राप्त प्रमाणहरूका आधारमा अनुसन्धानको मुख्य केन्द्र उनी नै बनेकी छन्।


सिसीटीभी फुटेजमा १७ सेकेन्डको ब्ल्याकआउट, आफन्तको शंका

विमलेशका आफन्तहरूले होटलको सिसीटीभी फुटेजको १७ सेकेन्ड ब्ल्याक भएको उल्लेख गर्दै अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।