रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा चार ठाउँमा पहिरो खस्दा पासाङल्हामु राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खसेको हो।

तातोपानी डाँडा र बालुवाखानीमा खसेको पहिरो हटाउन इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको नेतृत्वमा टोली खटिएको छ। बाटो खुलाउन रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय टिमुरेबाट करिब ३ किलोमिटर दक्षिणमा पर्छ।
यसैगरी, फ्याङलुङ र लिङलिङमा खसेको पहिरो हटाउन स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर थापाको नेतृत्वमा टोली खटिएको छ। उक्त टोलीले पनि बाटो खुलाउन पहल गरिरहेको प्रहरीले बताएको छ।









