उज्बेकिस्तानमा आजदेखि सुरु हुने एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ। खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

यो खेल नेपाली महिला फुटबल टोलीको १००औँ अन्तर्राष्ट्रिय खेलसमेत हो। ऐतिहासिक यो खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न आतुर छ। नेपाली खेलाडीहरू पनि उत्साहित रहेको बताइएको छ।
नेपाली महिला टोलीले लाओससँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। फिफा वरीयतामा नेपाल १००औँ र लाओस १०७औँ स्थानमा छन्। पुरुष फुटबलमा नेपाल र लाओसबीच पछिल्लो समय प्रतिस्पर्धा भए पनि महिला फुटबलमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन्। त्यसैले दुवै टोली एकअर्काका लागि नयाँ प्रतिद्वन्द्वी हुन्।
यो खेल नवनियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डको नेपाली राष्ट्रिय महिला टोलीसँगको पहिलो आधिकारिक खेल हुनेछ। दुई दशक लामो अन्तर्राष्ट्रिय अनुभव भए पनि उनले कुनै राष्ट्रिय टोलीको सिनियर टिमको प्रशिक्षण पहिलोपटक सम्हाल्दैछन्।
यद्यपि, छनोटको पहिलो खेलको दिनसम्म पनि नेपाली टोलीको कप्तान घोषणा भएको छैन। यसअघि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले टोलीको कप्तानी गर्दै आएकी थिइन्। प्रशिक्षक वाइल्डले अन्तिम समयमा कप्तान चयन गर्ने बताएका छन्। उनले पहिलो रोजाइमा मैदान प्रवेश गर्ने खेलाडीमध्येबाट कप्तान छनोट गर्ने सम्भावना छ। यदि एन्जिलाले कप्तानीको अवसर नपाएमा नेपालले नयाँ कप्तान पाउन सक्छ।
लाओसका प्रशिक्षक चोङ सोङ चोङले छनोटमा सहभागी सबै टोली बलिया रहेको र प्रतिस्पर्धा रोमाञ्चक हुने बताएका छन्। उनले हालै लाओसको पुरुष टोलीले नेपाललाई पराजित गरेको उल्लेख गर्दै महिला टोलीबाट पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरेको बताए। “हाम्रो पुरुष टोलीले भर्खरै नेपाललाई हराएको छ। अब महिला टोलीलाई पनि त्यस्तै अवसर छ। खेल रोमाञ्चक हुने विश्वास छ,” उनले भने।
समूह ‘एफ’ मा नेपालसहित आयोजक उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। नेपालले श्रीलंकासँग ८ खेलमा अपराजित रेकर्ड राखेको छ, तर उज्बेकिस्तानलाई भने पराजित गर्न सकेको छैन। समूहमा उज्बेकिस्तान सबैभन्दा बलियो टोली मानिन्छ।
समूहको शीर्ष स्थानमा रहने टोली सन् २०२६ मा आयोजना हुने एएफसी महिला एसियन कपका लागि छनोट हुनेछ। यो छनोटले अन्य प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको ढोका पनि खोल्नेछ।









